विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटासहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । 

काठमाडौँस्थित विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनका अनुसार आयोगले सापकोटासहित भन्सार अधिकृत नवकुल शर्मा, सामान आयात गर्ने देव इन्टरनेसनल प्रा.लि.का सञ्चालक शेरबहादुर बस्नेत र भन्सार एजेन्टका प्रतिनिधि सरनकुमार खरेलविरुद्ध मुद्दा दायर गरेको हो । भन्सार अधिकृत सापकोटाको मिलेमतोमा चीनबाट आयात गरिएको सामानको प्रज्ञापन पत्र नम्बर ७२६ दर्ता गरेपश्चात् सिस्टमबाटै डिलिट गरिएको पाइएको प्रवक्ता घिमिरेले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

आरोपित सापकोटाले २०७९ पुस २० गते दर्ता गरे पनि पछि सिस्टमबाट डिलिट गरी अनियमितता गरेको पुष्टि भएको आयोगको दाबी छ । उक्त कार्य गरेको सूचना बाहिरिएपछि भने सोही वर्षको माघ १० गते नयाँ प्रज्ञापन पत्र नम्बर ४०५७ दर्ता गरिएको जनाइएको छ ।

जसमा सुरुकै मितिबाट दर्ता गरेको घोषणा गर्दै ७३ हजार चार सय ३२ अमेरिकी डलरमा थप ८६ हजार नौ सय नौ डलर मूल्य थप गरी भन्सार प्रक्रियामा प्रवेश गराएको जनाएको छ । चारैजनाले सेटिङमा काम गरेकाले उनीहरूविरुद्ध ८४ लाख ५५ हजार छ सय पाँच रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मङ्गलबार मुद्दा दर्ता गरिएको हो । 

विज्ञप्तिमा भनिएको छ, ‘सामान जाँचपास गर्ने कार्यमा न्यून बिजकीकरण गरी गुणस्तर फरक पारी प्रचलित कानूनबमोजिम लिनुपर्ने राजस्व रकम नलिने तथा छाड्ने कोशिस गरेको देखिन्छ । भन्सार विभागबाट नियमतः ताकेता तथा निगरानीपश्चात् सिस्टम अस्येक्युडामार्फत् दर्ता भएको ७२६ को प्रज्ञापन–पत्र डिलिट गरी पुनः नयाँ प्रज्ञापन–पत्र ४०५७ मा दर्ता गरिएको देखिन्छ ।’

भन्सार विभाग र अर्थ मन्त्रालयबाट तारन्तार फलोअप भएको र छानबिन समिति गठन गरेपश्चात् मात्रै सोही वर्ष माघ १० गते नयाँ प्रज्ञापन–पत्र दर्ता गराई ११ गतेदेखि सुरु गरेको घोषणा गरिएको छ । 

विज्ञप्तिमा थप भनिएको छ, ‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को (घ) बमोजिमको कसूरजन्य कार्य गरेकोले सोही ऐनको दफा २१ बमोजिमको उद्योगको कसूरमा अपराध भएको हुँदा ताराप्रसाद सापकोटा र नवकुल शर्मालाई बिगो ८४ लाख ५५ हजार ६ सय ५ कायम गरी सोही ऐनको दफा ठ र दफा २१ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा घ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद र सोही ऐनको दफा ठ बमोजिम चुहावट भएको राजस्वको रकमको दोब्बर जरिबाना हुने सजायलाई आधारमानी सोही ऐनको दफा २१ बमोजिम आधा सजाय हुन मागदाबी लिइएको छ ।’

साथै देव इन्टरनेसनल प्रा.लि. तथा सञ्चालक शेरबहादुर बस्नेत र भन्सार एजेन्टको प्रतिनिधि सरनकुमार खरेलसमेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ र दफा १९ (२) को समेत मतियार भई कार्य कसूर गरेको पुष्टि भएको भन्दै विशेष अदालतमा आरोप पत्र दायर गरिएको प्रवक्ता घिमिरेले विज्ञप्तिमा उल्लेख गरेका छन् ।