धरान उपमहानगरपालिका-१६ की २१ वर्षीया सुमना श्रेष्ठको आफ्नै प्रेमी सविन भनिने बाबुराम भुजेलले शङ्काको भरमा हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

इलाका प्रहरी कार्यालय धरानमा हत्या आरोपित सार्वजनिक गरिएको छ । सुमनाको हत्या आरोपित धरान-१६ का १९ वर्षीय बाबुराम भुजेल 'सविन' लाई प्रहरीले सार्वजनिक गरेको हो । बिहीबार बाबुरामलाई धनकुटा नगरपालिका-९ मूलघाटबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विपिन रेग्मीका अनुसार भुजेलसँग दुई वर्षअघि फेसबुकमार्फत् चिनजान भई प्रेम सम्बन्धमा रहेका थिए ।

गत पुसदेखि सुमना ग्लोबल ओरियन्स कम्पनीको कार्यालय धरानमा काम गर्न थालेकी थिइन् । ओरियन्समा नै काम गर्ने प्रदीप श्रेष्ठसँग चिनजान भई फेसबुक आइडीसमेत एउटै चलाउने गरेका थिए । दुई जनाले एउटै फेसबुक आइडी चलाउने गरेको थाहा पाएपश्चात् शङ्कामा सुमनाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरीले प्रदीपलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । हत्याको कारण प्रेम हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा सुनसरीका एसपी रेग्मीले भने, 'हत्याको कारण शङ्का नै देखिन्छ ।' चैत्र ६ गते बाबुराम सुमनालाई भेट्न आएका थिए । प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'प्रदीप र सुमनाले फेसबुक आईडीसमेत एउटै चलाउने गरेकोले कारण बाबुराम भुजेल र सुमना श्रेष्ठबीचको सम्बन्ध चिसो हुन गएको देखिन्छ ।'

बाबुराम चैत २ गते काम गर्न धनकुटा, मूलघाटमा गई बसेपछि झनै प्रेम सम्बन्धमा खट्पट भइरहेको प्रहरीको विज्ञप्तिमा भनिएको छ । हत्या आरोपित बाबुरामले स्कुटर सिकाउने बहानामा दुवैजना घटनास्थल पुगेको प्रहरी अनुसन्धानले देखाएको छ । 'घटनास्थलमा निजहरूबीच फेसबुक प्रयोगको विषयलाई लिएर विवाद भएपछि बाबुरामले योजना मुताविक नै साथमा लिई गएको खुकुरी निकाली सुमनाको घाँटी रेटेर मारेपछि खोल्सामा फालेको' विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मृतक श्रेष्ठले प्रयोग गर्ने मोबाइल पनि बाबुरामको साथबाट बरामद गरेको छ । बाबुरामले सिम खोलामा बगाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चैत ७ गते धरान-१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलबीचको खोल्सामा सुमनाको शव फेला परेको थियो । शव पोष्टमार्टमका लागि बीपी पतिष्ठानमा लगिएको छ । हत्या आरोपित बाबुरामलाई सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जनाएको छ ।