नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई  प्रहरीले नियन्त्रणमा लिएको छ। सुन तस्करी प्रकरणमा नाम जोडिएका कारण अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।  

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले आज बिहान कपिलवस्तुबाट पूर्वसभामुख महरालाई नियन्त्रणमा लिएको राससलाई जानकारी दिएका छन्। नेता महरालाई कपिलवस्तुबाट अहिले काठमाडौँ ल्याइएको  प्रवक्ता ढकालले जानकारी दिएका छन्। यसअघि सोही प्रकरणमा महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले बयान लिइ  कागज गरी छाडेको थियो।

यसैबीच सर्वोच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो। 

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका र जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेका सबैमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन्। 

गत साउन २ मा (ब्रेक स)मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएको थियो। 

उक्त प्रकरणमा उनका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पनि मुछिएका छन्। राहुललाई भदौ १३ गते प्रहरीले पक्राउ गरिसकेको छ भने पुन पनि केही दिनअघि पक्राउ परेका छन्।