विराटनगर । विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत २५ वर्षीया नर्स चन्द्रिकाकुमारी दासको हत्याको घटनामा संलग्नको खोजी कार्य प्रहरीले तीव्र बनाएको छ ।

हस्पिटलदेखि करिब एक सय मिटर उत्तरमा डेरा गरी बस्दै आएको कोठाको बाथरुममा चन्द्रिकाकुमारीको शव शुक्रबार दिउँसो प्रहरीले भेटेको थियो ।

घाँटीसहित शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको अवस्थामा भेटिएपछि प्रहरीले प्रारम्भिक अनुसन्धानपछि उनको हत्या भएको जनाएको छ । सिरहाको फुल्काहकट्टी घर भएकी दास नोबेल अस्पतालको अर्थो विभागमा दुई महिना अगाडीदेखि सेवा गर्दै आएकी थिइन् ।

उनको हत्यामा कसको संलग्नता रहेको छ भन्ने यकिन भइसकेको छैन । अनुसन्धानका क्रममा ती नर्सका प्रेमीको संलग्नता रहेको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । हत्या हुनुभन्दा अगाडि तीनदिनदेखि चन्द्रिकाकुमारीको प्रेमी सोही कोठामा बसेका थिए । हत्या गरेपछि कोठाको चाबी चन्द्रिकाकुमारीको साथीलाई छोडेर जानु, त्यसपछि वाट्सएपमा मृतकको फोटो पठाउनुलगायतका घटनाक्रमले गर्दा पनि चन्द्रिकाकुमारीको हत्या उनको प्रेमीले नै गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

विभिन्न प्रसङ्गहरूका कारण घटनामा युवतीका प्रेमी संलग्न भएको हुनसक्ने प्रहरीले अनुमान गरेको हो । प्रेमी भनिएका युवाकोे मोबाइल नम्बरबाट ती नर्सका साथीलाई म्यासेज पनि गरेको पाइएको छ ।

म्यासेजमा आफूले हत्या गरेको उल्लेख गर्दै शवको फोटो पनि पठाइएको प्रहरीको भनाइ छ । चन्द्रिकाकुमारी बसेकै घरमा रहेका उनका साथीहरू पनि नर्स हुन्् । ह्वाट्एपको माध्यमबाट आफूलाई त्यस्तो म्यासेज आएपछि उनीहरूले घरधनीलाई जानकारी गराएका थिए । त्यसपछि घटनाबारे प्रहरीमा सूचना पुगेको थियो । प्रहरी टोली पुगेर घटनास्थलको अवस्था अध्ययन गरेको थियो । त्यस क्रममा घरका मानिसहरू र उनका साथीहरूसँग सोधपुछसमेत गरिएको थियो ।

घटनापछि उनका प्रेमी भनिएका सिरहा घर भएका ती युवक भने सम्पर्कविहीन छन् । उनका साथीहरूले ती युवक चन्द्रिकाकुमारीको प्रेमी भएको जानकारी गराएका थिए । हत्या गरेको भोलिपल्ट शुक्रबार मात्र शव भेटिएको कारणले प्रेमी भनिएका युवा भारततर्फ फरार भएको प्रहरीले आशङ्का गरेको छ । प्रहरीले उनको खोजी तीव्र बनाएको मोरङ प्रहरीका प्रमुख एसपी नवराज कार्कीले बताए । ‘हामीले घटनामा संलग्नको खोजी कार्यलाई तीव्र बनाएका छौँ’ उनले भने, ‘सबै कोणहरूबाट सूक्ष्म तरिकाले अनुसन्धान भइरहेको छ ।’ घटनामा कसको संलग्नता छ भनेर अहिले नै भन्न सक्ने अवस्था नरहे पनि उनले अनुसन्धानपछि वास्तविकता सार्वजनिक गरिने उल्लेख गरे ।

पोष्टमार्टम रिपोर्ट र घटनाबारे भइरहेको अनुसन्धान अघि बढ्दै जाँदा सत्य–तथ्य खुल्ने उनले बताए । घटनामा संलग्न व्यक्ति चाँडै पत्ता लगाउने दाबी पनि उनले गरेका छन् ।