धरान । मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरस्थित पानीट्याङ्की टोलमा सर्वसाधारणलाई राहत दिने भन्दै ठगीधन्दा चलाउने तीन जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख इन्स्पेक्टर तेजबहादुर दाहाल नेतृत्वको प्रहरी टोलीले ठगीधन्दामा संलग्न भएको आरोपमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भई काठमाडौं बस्ने सुनिता खत्री तथा बङ्गलादेशी नागरिक महमद महबुर रहमान र अहमद तानबिर हुसेनलाई पक्राउ गरेको हो । उनीहरूलाई मङ्गलबार सुन्दरहरैँचा–४ को बलियाबाट पक्राउ गरिएको हो ।

उनीहरूले आफू डब्लुबिएससी कम्पनीबाट आएको भन्दै गरिब तथा असहाय नागरिकको फोटो खिचेर, नागरिकताको फोटो कपीसमेत लिएर ५ सय, एक हजार र १५ सय रुपैयाँ वितरण गरेको प्रहरीको भनाइ छ ।

दिनभर गाउँमा गएर फोटो र नागरिकता सङ्कलन गरी बेलुका होटलमा आएर तिनै फोटो र नागरिकता प्रयोग गरी ई–सेवा, खल्ती र आईएमईजस्ता अनलाइन खाता खोलेको पाइएको प्रहरी निरीक्षक दाहालले बताए । उनीहरूले गाउँका ४० जनाबाट नागरिकता र फोटो सङ्कलन गरेको र १२ जनाको नामबाट ई–सेवा, खल्तीजस्ता अनलाइन खाता खोलेको पाइएको छ । उनीहरूको साथबाट एनसेलका प्रयोग नभएका सिमकार्ड, राहदानी, मोबाइल फोन, नगद र एटिएम कार्डसमेत बरामद गरिएको इन्स्पेक्टर दाहालले बताए ।

उनीहरूविरुद्ध पाँच जनाले इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएका छन् । पक्राउ परेका तीनै जनाविरुद्ध अनलाइन ठगी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।