विराटनगर । मोरङको पथरीशनिश्चरे–७ लामाटोलीमा बस्दै आएकी १५ वर्षीया सन्जना भनिने ज्ञानमति थुलुङ राईको हत्या आरोपमा पक्राउ परेका अभियुक्तको अनुसन्धान गर्दैजाँदा विभिन्न ‘कहानी’ हरू आउन थालेका छन् ।

ज्ञानमतिको हत्या आरोपमा पक्राउ परेका मोरङको ग्रामथान गाउँपालिका घर भई बाराको जितपुर सिमरा बस्ने ३८ वर्षीय धीरेनकुमार खाँ चौधरीले अर्कैलाई प्रहार गरेको खुकुरी ज्ञानमतिलाई  लागेको बयान दिएका छन् । फागुन २१ गते राति १०ः१० मा ज्ञानमतिको हत्या भएको थियो । त्यसको भोलिपल्टै बिहान २ बजे मोरङको भाउन्ने जङ्गलबाट धीरेनलाई प्रहरीले पक्राउ गरेको थियो ।

खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी ज्ञानमति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु (मामाको छोरा) विनोद र भाउजू बिनिता राईको घरमा २ वर्षदेखि बस्दै आएकी थिइन् । ज्ञानमतिको हत्या भएपछि पक्राउ परेका उनको प्रेमी भनिएका चौधरीले राईको परिवारले विवाह नगरिदिने भएपछि हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको थियो ।

अनुसन्धान गर्दै जाने क्रममा ज्ञानमतिले दाजुभाउजूले कुटपिट गर्ने र विवाहमा अवरोध गरेको गुनासो गरेपछि चौधरीले दाजुभाउजूमध्ये एकको हत्या गर्ने योजना बनाएको पाइएको हो । गत सोमबार  भएको घटनालगत्तै पक्राउ परेका चौधरीले मृतक राईको नभएर उनकी भाउजू बिनिताको हत्या गर्ने योजना बनाएको बताएको पाइएको प्रहरीले जनाएको छ ।

‘बाराबाट पथरीमा उत्रिएपछि दिउँसो ३ बजेसम्म चौधरी पथरीमा बसेको देखिएको छ । त्यसपछि उनी बिर्तामोड पुगेका छन् । एक दिन बिर्तामोड पुगेर बसेपछि सोमबार दिउँसो ३ बजे पथरी आइएको अनुसन्धानबाट खुलेको छ’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले भने, ‘दिनभरि पथरीमा बसेर राति कर्तव्य गरेको देखिन्छ ।’ पक्राउ परेका अभियुक्त चौधरीले ज्ञानमतिको दाजु–भाउजूमध्ये एक जनाको हत्या गर्ने योजना बनाएको देखिने प्रहरीको भनाइ छ ।

घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने, ‘भाउजूलाई भनेर सोमबार राति १० बजेर १० मिनेटमा धारिलो हतियार खुकुरी प्रहार गरेको देखिएको छ ।’ पक्राउ परेपछि मात्र चौधरीले प्रेमिका रहेकी ज्ञानमतिको हत्या भएको जानकारी पाएको अनुसन्धानमा संलग्न प्रहरी स्रोतले जनाएको छ । ‘प्रेमिकाको हत्या भएको खुलेपछि अहिले पश्चाताप गर्दै हिरासतमा निराश भएर ऊ खाली एकहोरो हुने गरेको छ’ एक प्रहरी अधिकृतले भने, ‘खाना पनि मन लगाएर खाँदैन ।’

खुकुरी बरामद
प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी पनि शनिबार बरामद गरेको छ । घटनास्थलदेखि करिब चार मय मिटर पूर्व खोलाको लेदोबाट खुकुरी बरामद गरिएको हो । अभियुक्तले नै खुकुरी फालेको घटनास्थल देखाइदिएको डिएसपी दाहालले जानकारी दिए । ‘खुकुरी यहाँ फालेको छु भनेका थिए’ डिएसपी दाहाल भन्छन्, ‘उनले जहाँ भनेका थिए, त्यही खोलामा छिर्दा खुकुरी भेटियो ।’ हत्यापछि खुकुरीको दाप धीरेनले घटनास्थलछेउमै छोडेका थिए । ‘भेटिएको खुकुरी र दापको आकार मिल्यो’–डिएसपी दाहालले भने ।

विनोद र उनकी श्रीमती बिनिताले होटलको काममा ज्ञानमतिलाई अत्यधिक खटाउने, दुःख, पिर र समस्यामा खासै वास्ता नगर्ने गर्दारहेछन्’–हिरासतमा रहेका धीरेनको बयान उद्धृत गर्दै डिएसपी दाहालले भने ।

धीरेनले हत्या गरेको तेस्रो दिनपछि मात्रै अनुसन्धान अधिकृतसँग खुल्न थालेको बुझिएको छ । फागुन २३, २४ गते धीरेन प्रहरीसँग केही बोलेनन् । जब फागुन २५ गते पुग्यो, त्यसपछि धीरेन प्रहरीसँग खुल्न थाले । उनले अनुसन्धा न अधिकृतसँग आफूले हानेको खुकुरी ज्ञानमतिलाई नभएर अर्कैलाई हो भन्न थाले ।

दोस्रो पटक म्याद थप गरिदै

प्रहरीले चौधरीलाई आज (मङ्गलबार) दोस्रो पटक म्याद थप गर्न मोरङ अदालतमा ल्याउने तयारी गरेको छ । इलाका प्रहरी कार्यालय पथरीले चौधरीलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गर्दै आएको छ । यसअघि पहिलो पटक इप्रका पथरीले कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गर्दै आएको थियो । पहिलो पटक थप गरेको म्याद मङ्गलबार सकिने भएकोले दोस्रो पटक म्याद थपको तयारी गरेको हो । 

चौधरी र राई डेढ वर्षदेखि प्रेममा रहेको प्रहरीले जनाएको छ । चौधरी विवाहित हुन् । उनकी श्रीमती चार वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेकी छन् ।

श्रीमतीसँग राम्रो सम्बन्ध नभएपछि सामाजिक सञ्जालमार्फत् ज्ञानमतिसँग उनको चिनजान भएको र नजिकिएको प्रहरीले जनाएको छ ।