विराटनगर ।  मोरङको पथरीशनिश्चरे – ७ लामा टोलीस्थित शौचालय गएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । राईको हत्या आरोपमा मोरङ ग्रामथान गाउँपालिका धिरेन चौधरीलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा प्रेम सम्बन्धमा आएको विवादका कारण हत्या भएको अनुसन्धान अधिकृत बताउँछन् । पक्राउ परेका आरोपीलाई मोरङ प्रहरीले पाँच बजे पत्रकार सम्मेलन गरी सार्वजानिक गर्ने तयारी गरेको छ । घटनाको विषयमा सबै कोणबाट अनुसन्धान सुरू गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।

‘हामीले गहन रूपमा अनुसन्धान सुरू गरेका छौं । सबै कोणबाट अनुसन्धान थालिएको छ । थप विषय हामी जानकारी दिनेछौं । अहिले अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘पत्रकार सम्मेलनमा थप विषयमा जानकारी दिनेछौं । ’

पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर अनुसन्धान सुरू गरिएको अनुसन्धान अधिकृत बताउँछन् । ‘एक जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । हत्यामा प्रयोग भएको धारिलो हतियार खोजी कार्यमा लागि परेका छौं,’ घटनाको अनुसन्धान गर्दै आएका ती अधिकृतले भने ।  मामा घरमा बस्दै आएकी राईको सोमबार राती धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

राति करिब साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा गर्धनसहित शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको पाइएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोटाङको एँसेलुखर्क घर भएकी उनी मामाको छोरा (दाजु) विनोद राईको घरमा बस्दै आएकी थिइन् । स्थानीय पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत् थिइन् ।