भद्रपुर । झापामा हुने हत्या घटनाको ५० प्रतिशत पति–पत्नीबीच हुने गरेको तथ्याङ्क प्रहरीसँग छ । अझ पतिले पत्नीमाथि गर्ने हत्याको घटना ८० प्रतिशत रहेको प्रहरीसँग आँकडा छ । झापा प्रहरीका अनुसार मदिरा सेवनपछि विवाद, रिसइबी, आर्थिक लेनदेनका कारण हत्याका घटनाहरू हुने गरेको देखिएको छ ।  

सात महिनामा १२ को हत्या
झापामा सात महिनाको अवधिमा १२ जनाको हत्या भएको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि यही फागुन दोस्रो सातासम्म ९ पुरूष र ३ महिलाको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अधिकांश घटनामा परिवार, आफन्त धेरै नजिकका साथीभाइहरु संलग्न रहेको प्रहरीको अभिलेखले देखाएको छ । पतिले पत्नीलाई, पत्नीले पतिलाई हत्या गरेको घटना रहेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी इन्स्पेक्टर ढुण्डीराज गिरीले जानकारी दिए ।

घरेलु हतियारको प्रयोग
अधिकांश हत्याका घटनामा घरेलु हतियार प्रयोग भएको प्रहरीले जनाएको छ । ढोका लगाउने चुक्कुल, बाँस, फलामको बाम्फोक, खुकुरी, फलामको हम्बर प्रयोग भएको प्रहरीले जनाएको छ । साउनमा भएको घटनाको एउटा मुद्दामा प्रतिवादी नखुलेको प्रहरीको भनाइ छ । परिवारभित्रका घटनालाई केलाउँदा अन्य सदस्यको तुलनामा पति पत्नीबीच एक अर्काको हत्या गर्ने क्रम बढेको प्रहरीले जनाएको छ । दाम्पत्यभित्र हुने हत्याका अधिकांश घटनाको भित्री कारण पैसा, अविश्वास, यौनसम्बन्ध वा विवाहेत्तर सम्बन्धका कारण भएको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यानमा २५ पक्राउ
कर्तव्य ज्यान कसूरमा यो अवधिमा २४ पुरूष र १ महिला गरी २५ जना पक्राउ परेको सूचना अधिकारी गिरीले जानकारी दिए । सबैभन्दा बढी असोज महिनामा ३ पुरूष र १ महिला गरी चारजनाको हत्या भएको र त्यसमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीको अभिलेखमा उल्लेख छ । छुरा प्रहार र कुटपिटबाट आफ्नै साथीभाइ र पतिले पत्नीलाई हत्या गरेकोे अभिलेखमा उल्लेख छ । यसै गरी माघ महिनामा फलामको हम्बर प्रहार गरेर र कुटपिटबाट तीनजनाको हत्या भएको छ । दुई महिला र एक पुरूषको हत्या भएको प्रहरीले जनाएको छ । त्यसमा संलग्न भएको आरोपमा दुईजना पुरूषलाई प्रहरीले पक्राउ गरेको थियो ।

पतिले पत्नीलाई कुटपिट गरी हत्या गरेका अन्य दुईजनालाई नाता सम्बन्ध नभएको मानिसले कुटपिट गरी मारेको इन्स्पेक्टर गिरीको भनाइ छ । साउनमा दुई पुरूषको हत्या भएको छ । प्रहरीका अनुसार घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो । कात्तिक, मङ्सिर र पुसमा एक–एकजना पुरूषको हत्या भएको छ भने माघ महिनामा एक महिलाको हत्या गरिएको अभिलेख छ । त्यसयता फागुनको दोस्रो हप्तासम्म भने हत्याका घटना नभएको प्रहरीको तथ्याङ्कले देखाएको छ । घटनामा संलग्न रहेको भन्दै साउन, कात्तिक, मङ्सिर र पुस महिनामा एक–एकजना पुरूषलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

हत्या बढ्दै
गत आर्थिक वर्ष ०७९/८० मा चार पुरूष र पाँच महिला गरी नौ जनाको हत्या भएको तथ्याङ्कमा उल्लेख छ । सो अवधिमा १० वटा मुद्दा दर्ता भएका थिए भने १४ जनालाई प्रहरीले पक्राउ गरेको उल्लेख छ । दुई आर्थिक वर्षको तथ्याङ्क हेर्दा चालु आर्थिक वर्षमा झापामा हत्याका घटनामा वृद्धि भएको देखिन्छ ।

परिवार र आफन्तभित्रै हुने हत्याका अधिकांश घटना आवेगप्रेरित देखिएको प्रहरीको भनाइ छ । घरेलु हिंसा, आर्थिक तथा मानसिक समस्या, शङ्का, विवाहेत्तर सम्बन्ध, वैदेशिक रोजगारी, जाँड÷रक्सी र लागूऔषधका कारण पनि यस्ता घटना हुने गरेको प्रहरी अधिकारी बताउँछन् ।

सङ्गठित अपराधभन्दा बढी पारिवारिक हत्या
पहिले सङ्गठित हत्या हुने गरेको प्रहरीले जनाएको थियो भने अहिले परिवार र आफन्तभित्रैबाट हत्या हुने गरेको प्रहरी बताउँछ । सामाजिक बनावट, घरभित्रको वातावरण, अविश्वास, विवाहेत्तर सम्बन्ध, आर्थिक कारोबारले निम्त्याएको विवाद, आवेग, उत्तेजना र तनावलाई नियन्त्रण गर्न नसक्दा पनि हत्या हुने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाइ छ ।

यस्ता घटना कुनै उमेर समूहमा मात्रै सीमित नदेखिएको प्रहरी बताउँछ । लागूऔषधको प्रयोग र मदिरा सेवन गर्ने व्यक्तिले सन्तुलन गुमाउने डर अत्यधिक रहने इन्स्पेक्टर गिरीले जानकारी दिए ।

विविध कारणले हत्या
हत्याको प्रवृत्ति हेर्ने हो भने रिस, आवेग, तनाव र मानसिक समस्याको कारणले भएको प्रहरी अनुसन्धानको क्रममा देखिएको छ । बदलाको भावना पनि मुख्य रहेको छ । विज्ञका अनुसार परिवार र आफन्तभित्रै हुने हत्यापछाडिको कारण सामाजिक विचलन रहेको छ ।