धरान । विभिन्न मुद्दामा फरार रहेका अभियुक्तलाई झापा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता इन्स्पेक्टर ढुण्डीराज गिरीका अनुसार गाँजा मुद्दाका छविलाल कडरिया र सवारी ज्यान मुद्दाका सूर्यनारायण चौधरीलाई पक्राउ गरिएको हो । दुवैलाई छुट्टाछुट्टै मितिमा झापा जिल्ला अदालतले कैद तथा जरिबाना तोकेको थियो ।

प्रवक्ता गिरीका अनुसार गाँजा मुद्दामा दुई महिना कैद र १ हजार रुपैयाँ जरिबाना भएका झापा बुद्धशान्ति गाउँपालिका–१ का ३९ वर्षीय छविलाल कडरियालाई जिल्ला अदालतले साउन २८ गते फैसला गरेको थियो ।

त्यस्तै गत असार १३ गते फैसला भएका सवारी ज्यान मुद्दाका झापा अर्जुनधारा नगरपालिका–४ का ३५ वर्षीय सूर्यनारायण चौधरीलाई ६ महिना कैद र २ हजार रुपैयाँ जरिबाना तोकेको थियो । उनीहरूलाई सोमबार पक्राउ गरिएको प्रवक्ता गिरीले जानकारी दिए । उनीहरूलाई फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराई कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ ।