इटहरी । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारस्थित ड्युटीमा खटिएका प्रहरीलाई एम्बुलेन्सभित्र गाँजा रहेको पहिल्यै सूचना आइसकेको थियो । प्रहरीले एम्बुलेन्सको नम्बर भने पत्ता लगाउन सकेको थिएन । बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सभित्र गाँजा होला भन्ने अनुमान कसलाई थियो र ? तर शनिबार यस्तै दृश्य भेडेटारमा देखिएको छ ।

साइरन बजाउँदै आएको एम्बुलेन्सभित्र बिरामी मान्छे कोही नभएपछि शङ्का लागेर चालकमाथि केरकार गर्दा प्रहरीले ५२ केजी गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारका वरिष्ठ सइ जीवन कार्कीका अनुसार एम्बुलेन्समा गाँजा रहेको सूचना पाए पनि गाडी नम्बर र रुट जानकारी थिएन । नम्बर पत्ता लगाउन धरान–धनकुटा राजमार्गमा शुक्रबार र शनिबार गुडेका एम्बुलेन्सहरूको डाटा चेकजाँच गरियो । जम्मा २१ वटा एम्बुलेन्स गुडेको रेकर्ड भेटिए पनि एउटा एम्बुलेन्स फर्किएको रेकर्ड देखिएन । पर्खाइमा बस्ने क्रममा सफलता प्राप्त भएको वरिष्ठ सइ कार्कीले बताए । वरिष्ठ सइ कार्कीका अनुसार धनकुटाबाट धरानतर्फ आउँदै गरेको मे.१ च २०३२ नम्बरको एम्बुलेन्सलाई रोकेर चेकजाँच गर्दा शनिबार बिहान १० बजे ५२ केजी गाँजा बरामद भएको हो ।

यस्तै सुनसरीको वराहक्षेत्र नगरपालिका–१ बाघखोलाबाट पनि गाजाँसहित एम्बुलेन्स नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बेस क्याम्प चतराको टोलीले को.१ च २९३७ नम्बरको एम्बुलेन्समा लोड गरेको अवस्थामा नौ बोरा गाँजा बरामद गरेको हो । एम्बुलेन्स चालक भने एम्बुलेन्स र गाँजा छाडेर फरार भएका छन् । २ बजे बिहानको राति लोड गर्दै गरेको अवस्थामा गाँजा बरामद गरिएको सशस्त्र प्रहरीका इन्स्पेक्टर डिकबहादुर गोलेले जानकारी दिए । गाँजा र एम्बुलेन्स इलाका प्रहरी कार्यालय चक्रघट्टीमा आवश्यक कारबाहीका लागि बुझाइएको छ ।

सोही क्षेत्रबाट यही फागुन ८ गते तेल बोक्ने ट्याङ्करमा ६ सय केजी गाँजा बरामद भएको थियो । गाँजा बरामद गर्ने टोलीको नेतृत्व पनि उनै वरिष्ठ सइ कार्की नै थिए । धरानबाट धनकुटातर्फ तेल लिएर गएको को.१ ख ७३२२ नम्बरको ट्याङ्कर केही समयपछि नै फर्किएपछि शङ्का लागेर हेर्दा भित्र ६ सय केजी गाँजा बरामद भएको वरिष्ठ सइ जीवन कार्कीले बताए । ‘खाली भएको ट्याङ्करको आवाज र भारी भएको आवाज नै फरक हुन्छ; त्यही आवाजलाई मध्यनजर गरेर चेकजाँच गर्दा नसोचेको सफलता हात प¥यो’–वरिष्ठ सइ कार्कीले भने ।

एम्बुलेन्सको हकमा भने त्यस्तो देखिएको थिएन । साइरन बजाए पनि भित्र बिरामी कोही नभएपछि चालकलाई बाहिर निकालेर सामान्य सोधपुछ गर्दा सुरुमा १ केजी मात्रै छ भनेर सिट मुनिबाट निकालेको वरिष्ठ सइ कार्कीले बताए । पछि प्रहरीले एम्बुलेन्सभित्रै पसेर खोजतलास गरेपछि टुल बक्स राख्ने स्थानमा एक किलोको दरले प्याकेजिङ गरेको अवस्थामा ५२ वटा पोका भेटिएपछि एम्बुलेन्ससहित चालक विराटनगर महानगरपालिका–८ का ४८ वर्षीय जयदेव चेललाई पनि नियन्त्रणमा लिएको थियो । पक्राउ एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ भने चालकलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ ।