सशस्त्र प्रहरी सुरक्षा बेस वराहक्षेत्रको गस्ती टोलीले गाँजा बोकेको एम्बुलेन्स बगुवा जङ्गलबाट अढाई बजे राति नियन्त्रणमा लिएको छ ।

वराहक्षेत्रको पहाडी इलाका कटहरे हुँदै गाँजा तस्करी हुने गरेको सूचनाका आधारमा साता दिनदेखि निगरानी गरिरहेको सशस्त्र प्रहरीले बगुवा- कटहरे सडकको ज्वालामुखी सामुदायिक वन क्षेत्रमा पर्ने धर्मद्वारबाट एम्बुलेन्समा लोड गरेको अवस्थामा ९ बोरा गाँजा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक बिगबहादुर गोलेले जानकारी दिए ।

तस्करीमा संलग्न एमबुलेन्स चालक फरार भएको प्रहरीको भनाइ छ । गत तीन महिनामा प्रहरीले वराहक्षेत्र हुँदै तस्करी भइरहेको अवस्थामा झण्डै एक टन गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक राम तिम्सिनाले जानकारी दिए ।

बरामद गाँजा इलाका प्रहरी कार्यालय चक्रघट्टीमा तौलका लागि लगिएको प्रहरीले जनाएको छ । घटनास्थलमा वराहक्षेत्र- १ का वडाध्यक्ष किसन थापाको उपस्थिति थियो ।  वडासदस्य कुमार भट्टराईका अनुसार वराहक्षेत्रमा गाँजा खेती नहुने तर सडक सन्जालको प्रयोग भइरहेको बताए ।