विजयपुर । धरान उपमहानगरपालिका–११ स्थित महावीर चोकमा छोराको कुटाइबाट आमाको मृत्यु भएको छ ।

सोमबार छोराको कुटपिटबाट गम्भीर घाइते धरान–११ महावीर चोककी ४६ वर्षीया रोमनसरी राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर रञ्जन मिश्रले जानकारी दिए । उनका अनुसार २९ वर्षीय छोरा दीपक राईले कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएकी रोमनसरीलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठान पुर्याएपश्चात् चिकित्सकले मृत्यु भएको घोषणा गरेको इन्स्पेक्टर मिश्रले जानकारी दिए । छोराले लागूपदार्थ र मादकपदार्थ सेवन गरी आमालाई कुटपिट गरेको प्रहरीको भनाइ छ ।

सोमबार नै छोरो दीपकलाई नियन्त्रणमा लिइएको छ । मृतकका पति रामबहादुर राईले छोरा दीपकविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका छन् । दीपकलाई म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।