धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इलेक्ट्रिकल इन्जिनियर तेजनारायण साहविरुद्ध अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ ।

विशेष अदालतले साहविरुद्धको भ्रष्टाचार मुद्दामा आइतबार फैसला गरेको हो । सजायको लागि पेशी भने यही फागुन १३ गते तोकिएको छ । साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौ २५ गते मुद्दा दायर गरेको थियो । आयोगले उनीमाथि ३३ लाख २० हजार २ सय २६ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपसहित मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दाको फैसला विशेष अदालतका अध्यक्षसमेत रहेका न्यायाधीश टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले फैसला गरेको हो । यता विशेष अदालतका सूचना अधिकारी धनबहादुर कार्कीले आइतबार दोषी ठहर गरिएको जानकारी दिए । उनले भने, ‘दोषी ठहर हुने काम भयो । उहाँले प्रतिष्ठानको खातामा रकम नबुझाई हिनामिना गरेकाले दोषी कायम हुने काम भयो’ उनले भने, ‘कैद र जरिबानाका लागि आउँदो फागुन १३ गतेको पेशीले निर्णय गर्छ ।’

साहले अनधिकृत रूपमा प्रतिष्ठानको हाताभित्र पसल सञ्चालन गरिरहेका व्यवसायीहरूसँग विद्युत् महसुल उठाई आफैले चलाएको आरोप लागेको थियो । उनले विद्युत् महसुलबापतको ३३ लाख २० हजार २ सय २६ रुपैयाँ उठाई प्रतिष्ठानको खातामा जम्मा गर्नुपर्नेमा त्यसो नगरेको भनी अख्तियारले दाबी गरेको थियो । सोही विषयमा अख्तियारले जरिबाना र कैद सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

यस विषयमा अख्तियारका प्रवक्ता नरहरि घिमिरेले आयोगले मुद्दा दर्ता गरेको भए पनि फैसलाका विषयमा आयोगलाई जानकारी नहुने बताए । तर, उनले साहविरुद्ध भदौ २५ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको जानकारी दिए । ‘अख्तियारले मुद्दा दर्ता गर्ने हो, फैसलाका विषयमा चाहिँ जानकारी हुँदैन’–उनले फोनसम्पर्कमा भने । साहलाई अदालतले भ्रष्टाचारी ठहर गरेको छ । आरोपित साहमाथि सार्वजनिक सम्पत्ति दुरुपयोग गरेको ठहर भएको छ ।