विराटनगर । यही फागुन २ गते धनकुटाको भेडेटारबाट डिजेल तथा पेट्रोल ढुवानी गर्ने ट्याङ्करमा लोड गरेको पाँच सय ९४ किलो गाँजा धनकुटा प्रहरीले बरामद ग¥यो । गाँजासँगै प्रहरीले गाँजासहित चार जनालाई पनि पक्राउ गरेको थियो । प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चौकमा मूलघाटबाट विराटनगरतर्फ आउँदै गरेको को.१ ख ७३२२ नम्बरको ट्याङ्करमा गाँजा बरामद गरेको हो ।

ट्याङ्करको तेल लगाउने डिब्बाभित्र गाँजा राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो । प्रहरीले गाँजा ओसार–पसारमा संलग्न भारत अररियाका ४४ वर्षीय नईम खान, सह–चालक एमडी अफ्रोज, ट्याङ्करमा सवार ७० वर्षीय लखन महत्तो र मोरङ रङ्गेलीका गयानन्द मण्डललाई पक्राउ गरेको छ ।

धनकुटाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार उक्त ट्याङ्कर कसको हो भन्ने खुल्न बाँकी छ । तर, पेट्रोलियम डिलर एसोसिएसनका मानिसहरू ट्याङ्कर छुटाउनुपर्ने भन्दै धनकुटाको प्रहरीसमक्ष डेलिगेसन गएका थिए । रोचक पक्ष के छ भने विराटनगरबाट पेट्रोलियम पदार्थ बोकेर सप्तरी गएको ट्याङ्कर इन्धन खन्याएर गाँजा लिन सिधै धनकुटा पुगेको थियो । ‘सप्तरीतिर पेट्रोल पु¥याएर फर्केको ट्याङ्कर गाँजा लिनकै लागि धनकुटा आएको भन्ने पुष्टि भयो’ कोइरालाले भने, ‘साहुलाई ट्याङ्कर बिग्रिएर बनाउँदै गरेको भन्ने जानकारी दिएर चालकले ट्याङ्कर धनुकटा लिएर आएको थाहा भयो । ट्याङ्करका साहुले भोलिपल्ट बिहान फोन गर्दा चालक नै पक्राउ परिसकेका थिए । यो घटनाले साहु नै संलग्न भन्ने बुझिँदैन । चालक, सह–चालकहरूको भने प्रत्यक्ष संलग्नता देखिन्छ ।’

योसँगै गत असोजयता मात्रै धनकुटाबाट ६ सय ५१ केजी गाँजा बरामद भएको छ । अगाडि पनि विभिन्न विकल्प प्रयोग गरेर गाँजा तस्करी हुने गरेको थियो । प्रहरीले चेकजाँचमा कडाइ गरेपछि भने विकल्पको खोजी गर्दै ट्याङ्करसमेत प्रयोग गरेको कोइराला बताउँछन् । ‘बरामद गाँजा कहाँ उत्पादन भएको भन्ने कुरा खुलेको छैन । तर, पक्राउ परेकाहरूले हामीलाई नै थाहा छैन भनेका छन्’–कोइरालाले भने ।

उता, गत पुस २३ गते भारततर्फ तस्करी हुन लागेको झण्डै ३ सय किलो गाँजा सुनसरी प्रहरीले बरामद गरेको थियो । ८ वटा बोरामा रहेको गाँजासहित प्रहरीले त्यसबेला पनि भारतीय नागरिक अरविन्दकुमार र सुनसरीको कोसी गाउँपालिका–५ का महोम्मद सागर मियाँलाई पक्राउ गरेको थियो । उनीहरूले उक्त गाँजा को.२ त ६८९० नम्बरको ट्याक्टरमा लोड गरेर भारत लैजान लागेका थिए । सुनसरी प्रहरीका अनुसार भोजपुरबाट सप्तकोसी हुँदै ल्याएको गाँजा कोसी गाउँपालिका–६ कोसी कटान भन्ने ठाउँबाट ट्याक्टरको मुनिपट्टि गाँजा र माथि बालुवा भरेर भारत लान लागेका थिए ।

यस्तै प्रहरीले फागुन १ गते सुनसरी वराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित दाहसंस्कार गर्ने घाटनजिक कोसी किनारमा लुकाएको अवस्थामा १३ वटा बोरामा जम्मा ४ सय ६ किलो ९ सय ४० ग्राम गाँजा बरामद गरेको थियो । उक्त गाँजा प्रदेश ०१–०२–००१ ज ४०५० नम्बरको बोलेरोमा लोड गरिराखिएको थियो । प्रहरीले उक्त काममा संलग्न रहेको भन्दै धरान–४ का सूर्य राई र भोजपुर हतुवागढी–८ का लक्ष्मण राईलाई पक्राउ गरेको थियो ।

एक वर्षअगाडि बन्दाकोपी बोकेर भारततिर जान लागेको ट्रकमा प्रहरीले १ सय ५६ केजी गाँजा बरामद गरेको थियो । प्रदेश १–०२–००१ ख ८६७७ नम्बरको ट्रकमा लोड गरी बन्दाकोपी बोकेर हिँडेको ट्रकभित्र सशस्त्र प्रहरी बल बिओपी (बोर्डर आउट पोष्ट) रानी विराटनगर र इलाका प्रहरी कार्यालय रानीले गाँजा बरामद गरेको थियो ।

धनकुटाको सिँधुवाबाट मिनी ट्रकभित्र ४६ बोरा बन्दाकोपी लोड गरेको थियो । त्यही बन्दाभित्र मुनि धरान र भेडेटारको बीच जङ्गलमा ६ वटा बोरामा १ सय ५६ केजी गाँजा मिनी ट्रकमा हालेर ल्याएका थिए । प्रहरीले ट्रक चालक धनकुटा सहिद भूमि गाउँपालिका–३ का २९ वर्षीय विवेक राईलाई पनि पक्राउ गरेको थियो  ।

पहाडी जिल्लामा उत्पादन हुने गाँजा लुकाई छिपाई सीमा नाका कटाएर भारत पु¥याउने धन्दामा उनी संलग्न रहेको पाइएको छ । शृङ्खलाबद्धरूपमा सुनसरी र मोरङको भारतसँग सीमा जोडिएका नाकाबाट तस्करी हुन लागेको गाँजा प्रहरीले बरामद गरेको घटनाले पनि धनकुटा, सुनसरी र मोरङ जिल्लाहरू गाँजा तस्करीको ‘ट्रान्जिट पोइन्ट’ बनेको छ । यसअघि सप्तकोसीको जलमार्ग र पहाडी जिल्लाहरूबाट तरकारी बोकेको मालवाहक ट्रकबाट तस्करी हुने गरेको गाँजा अहिले इन्धन बोक्ने ट्याक्टरबाट तस्करी हुने गरेको पाइएको छ ।  

प्रहरीलाई चुनौती
धनकुटा, भोजपुर, उदयपुरलगायत जिल्लामा उत्पादन हुने गाँजा पछिल्लो समय इन्धन बोक्ने ट्याङ्करमा लोड गरेर तस्करी गराउने गिरोह सक्रिय छन् । त्यसैले गर्दा पनि सुरक्षा निकायले इन्धन बोक्ने ट्याङ्करको चेकजाँचमा कडाइ गर्न सुरू गरेको छ ।  खुल्ला सीमाका कारण लागूऔषध र गाँजा कारोबारले मोरङ र सुनसरी प्रहरीलाई सुरक्षा चुनौती थपिँदै गएको छ । भारतसँगको खुल्ला सीमाको फाइदा उठाएर लागूऔषध र गाँजाको कारोबार बढ्दै गएकोले यस्ता कारोबार रोक्न प्रहरीलाई चुनौती थपिएको हो ।

पूर्वी नेपालको पहाडी जिल्लामा उत्पादन भएको गाँजा भारतमा महँगो मूल्यमा बिक्री वितरण हुने भएकोले यसको तस्करी हुने गरेको छ । बारीमा किसानले १ किलोको २५ सयदेखि चार हजार रूपैयाँसम्म पाउँछन् । विराटनगर आइपुग्दा २० हजार पुग्छ भने भारत पुग्दा ४० देखि ५० हजार भन्दा बढीमा कारोबार हुने भएकोले गाँजाको तस्करी हुने गरेको सुरक्षा निकायका अधिकारीहरु बताउँछन् ।

चार महिनामा ६० जना पक्राउ
सुनसरीका प्रहरी प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीका अनुसार असोजदेखि यता सुनसरी प्रहरीले ६० जना मानिस र १६ सय ९८ किलो ३ सय ४६ ग्राम गाँजा बरामद गरेको छ । यस्तै १६ वटा सवारी साधन पनि प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका ६० जनामध्ये २१ जना भारतीय रहेका छन् । नियन्त्रणमा लिएका १६ सवारी साधनमध्ये २ वटा भारतीय कार, २ वटा स्कारपियो र २ वटा टाटासुमो रहेको छ । नेपालका सवारी साधन भने १० वटा छन् ।