धरान । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशका सबै जाति, भाषा र संस्कृतिको सम्बद्र्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
धरान–१५ श्यामचोकस्थित ङाग्युर यिङ्मा ङ्युङ्ने ल्हाखाङ गुम्बामा आयोजित ‘गुरु छेन्गे छ्याम स्थापना तथा विश्व शान्ति पूजा’ तथा ‘मञ्जुश्री तŒव ज्योतिष शास्त्र’ पुस्तक लोकार्पण कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले कोशी प्रदेश सरकार एउटा जाति, धर्म र संस्कृतिको मात्र नभई सबैको विकासमा लागेको बताएका हुन् ।
बौद्ध धर्मावलम्बीका गुरु सातौं औतारी सिम्धा गेटुल रिम्पोछेको उपस्थितिमा भइरहेको विश्व शान्ति पूजाका अवसरमा कोशी प्रदेशको शान्तिको कामना गर्दै लामा गुरुहरूले पूजापाठसमेत गरेका थिए । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको नराम्रो ग्रह हटाएर शान्तिका लागि पूजापाठ गरिदिएकोमा लामाहरूलाई धन्यवाद ज्ञापन गरे । उनले गुम्बा क्षेत्रमा निर्माण हुने पूजा भवनको सिलान्यास र पुस्तक विमोचन पनि गरेका छन् ।
सो कार्यक्रममा बोल्दै कोशी प्रदेश सरकारकै भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुले नेपालको लुम्बिनीबाट फैलिएको शान्तिको दीप गौतम बुद्धले संसारभर फैलाएको भन्दै जहाँ अशान्ति हुन्छ, त्यहाँ यसरी नै शान्तिको दीप बल्ने बताए । कार्यक्रममा कोशी प्रदेशसभा सदस्यहरू रमेश बस्नेत, ममता योञ्जन तामाङलगायतका अतिथिहरू उपस्थित थिए ।































