विराटनगर । तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा रहेका शैक्षिक संस्थामा चन्दा आतङ्क सिर्जना गर्ने र नदिए विष्फोटक पदार्थ राखेर ध्वंसात्मक गतिविधि गर्ने गिरोह सक्रिय रहेको पाइएको छ ।

भूमिगत सङ्गठनको नाममा महासचिव महावीरको दस्तखत भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लेखिएको लेटर प्याड प्रयोग गरी चन्दा माग गर्ने र नदिए विष्फोटक पदार्थ राखेर आतङ्क सिर्जना गर्ने गिरोहका सदस्य सक्रिय रहेको पाइएको हो ।

मोरङ प्रहरीले  उक्त भूमिगत सङ्गठनको नाममा चन्दा असुल्ने गिरोहका सदस्यमध्ये दुई जनालाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम माङ्सेबुङ गाउँपालिका–१ गजुरमुखी घर भई काठमाडौँस्थित भीमसेनगोला डेरा गरी बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको याङ्वरक गाउँपालिका–१ का ३० वर्षीय विपिन अधिकारी रहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । पक्राउ परेकाको साथबाट शैक्षिक संस्थामा चन्दा माग्न लेखिएको पत्र, नगदी रसिद र लेटरप्याड पनि बरामद भएको एसपी पोखरेलले बताए । मोरङ प्रहरीले उनीहरूलाई मङ्गलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

मङ्गलबार बिहान विराटनगर–३ मा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले ‘डिस्पोज’ गरेको थियो । डिस्पोज गरिएको शङ्कास्पद वस्तु कुकर बम भएको पुष्टि भएको छ ।  सो घटनामा पनि उनीहरूको संलग्नता रहेको एसपी पोखरेलले बताए । प्रहरीले उनीहरूको साथबाट विष्फोटक पदार्थ बनाउने सामग्री सातवटा डेटोनेटर, १८ फिट तीन इन्च लम्बाइको तार, एक केजी सोडा पनि बरामद गरेको छ । चन्दा नदिए ध्वंसात्मक कार्यसमेत गरिने भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको एसपी पोखरेलले बताए ।

‘सुनसरी र झापाका शैक्षिक सङ्घ–संस्थाहरूमा चन्दा असुली गरेको सूचना थियो । उक्त समूह झापापछि मोरङ आएको हामीले सूचना पाएका थियौँ । चन्दा असुलीको पत्र पठाएको जानकारी पायौँ र त्यसपछि पक्राउ गर्न विशेष प्रहरी परिचालन गरियो’ एसपी पोखरेलले भने, ‘चन्दा नदिने शैक्षिक संस्थाअगाडि पनि विष्फोट गराउने उनीहरूको उद्देश्य थियो । त्यो हामीले पूरा हुन दिएनौँ । बेलैमा सूचना पाएपछि उनीहरूलाई नियन्त्रणमा लिन सफल भएका छौँ ।’ उनीहरूले विराटनगरका शैक्षिक संस्थालाई त्रसित बनाउन प्रेसर कुकर बम खाली चौरमा लुकाएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

मिश्र र अधिकारी आपराधिक पृष्ठभूमिका
दुवै जनाविरुद्ध विष्फोटक पदार्थ ऐनअन्तर्गत मुद्दा चलाउन मङ्गलबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ । मिश्र र अधिकारी आपराधिक पृष्ठभूमिका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ । एसपी पोखरेलका अनुसार मिश्रविरुद्ध झापामा २०७६ सालमा विष्फोटक पदार्थसम्बन्धी ४ वटा मुद्दा चलेको पाइएको छ । अधिकारीविरुद्ध पाँचथरमा २०७६ मा अभद्र व्यवहार मुद्दा चलेको उनले बताए । ‘दुवै जना आपराधिक पृष्ठभूमिका व्यक्तिहरू हुन्’ उनले भने, ‘पछिल्लो समय नयाँ भूमिगत सङ्गठनमा आबद्ध भएर चन्दा आतङ्क मच्चाइरहेको पाइएको छ ।’

विशेष अपरेसनपछि पक्राउ
 पक्राउ परेका प्रतिवादीहरूले चन्दा नदिए बम विष्फोट गराउने धम्कीसमेत दिने गरेको पाइएको छ ।

‘माओवादीका नाममा नयाँ र भूमिगत समूह खडा गरी धम्की दिँदै पूर्वी तराईका निजी शैक्षिक संस्थाबाट चन्दा असुली गर्ने गरिएको सूचना केही समयअघि प्राप्त भएको थियो’ एसपी पोखरेलले भने, ‘त्यसका आधारमा विशेष अप्रेसन चलाएर खोजी तीव्र पारिएपछि दुई जनालाई पक्राउ गर्न सफल भइयो ।’ ‘सोमबार दिउँसोतिर विष्फोटक पदार्थ जस्तो वस्तुहरू कुनै निकायमा राख्ने प्रयोजनले ओसार–पसार भएको सूचना प्राप्त भएको थियो । हामीले सम्भावित चन्दाका लागि टार्गेट हुनसक्ने संस्थाहरूसँग सम्पर्क गर्दा सीसीटीभी फुटेजहरूबाट प्रमाण सङ्कलन गरेका थियौँ’ एसपी पोखरेलले भने, ‘सोही क्रममा विपिन अधिकारीलाई सुरुमा पक्राउ गरेका हौँ । त्यसपछि प्रवीण भनिने व्यक्तिलाई पक्राउ गरिएको हो ।’ उनीहरूलाई विराटनगर र बूढीगङ्गाबाट  पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राति नै विष्फोटक पदार्थहरू सम्भावित ठाउँमा राखेर तर्साउने र चन्दा सङ्कलन गर्ने उद्देश्य देखिएको उनले बताए । प्रहरीले संवेदनशील भएर परिचालन भएका कारण उनीहरूको योजना विफल पारेको एसपी पोखरेलले बताए । पक्राउ परेका व्यक्तिहरू विगतमा उनीहरू नेकपा माओवादी (विप्लव), नेकपा माओवादी वैद्य र केही व्यक्ति नेकपा माओवादी (बहुमत) भन्नेसँग आबद्ध देखिएको प्रहरीले जनाएको छ । ‘सबै सङ्गठनसँग अलिअलि जोडिएर जम्मा भई परिचालित भएको देखिन्छ । उनीहरूले हाल नेकपा (माओवादी) मा महावीरको नेतृत्वको नयाँ सङ्गठन विस्तार गर्न खोजेको देखिन्छ’ एसपी पोखरेलले भने, ‘महाधिवेशनका लागि ३५ सदस्यीय केन्द्रीय समिति तयार भएको देखिएको छ । जिल्लास्तरमा सङ्गठन नबनेको र त्यसै महाधिवेशनका लागि रकम सङ्कलन गर्ने अभियानस्वरूप चन्दा आतङ्क मच्चाएको देखिन्छ ।’ त्रास देखाउँदै चन्दा आतङ्क मच्चाउने अरूको पनि खोजी कार्यलाई तीव्र बनाएको उनले बताए । ‘यो समूहको कनेक्सन कहाँसम्म छ भनी त्यसको खोजी कार्यमा हामी लागिपरेका छौँ’–उनले भने ।

उनका अनुसार महासचिव महावीरको दस्तखत रहेको र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लेखिएको ‘लेटर प्याड’ प्रयोग गरेर भूमिगत सङ्गठनका नाममा शैक्षिक संस्थाबाट चन्दा असुल्ने गरिएको पत्ता लागेको छ । गत भदौमा खडा गरिएको यो समूहमा अन्य दल छाडेका तथा अयोग्य र असन्तुष्ट लडाकुलाई समेत समेट्ने प्रयास गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो समूहले यसअघि झापा र सुनसरीका केही निजी विद्यालयमा चन्दा उठाइसकेको पाइएको छ । विद्यालयको स्तर र हैसियत हेरेर चन्दा माग गर्ने गरिएको प्रहरीको भनाइ छ ।

प्रेसर कुकर बम डिस्पोज   
विराटनगर–३ मा भेटिएको शङ्कास्पद वस्तु ‘प्रेसर कुकर’ बम रहेको पुष्टि भएको छ । उक्त बम मोरङको थलाहास्थित नेपाली सेनाको भैरव गणबाट खटिएको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

घरेलु तथा साना उद्योग कार्यालयबाट लगभग २ सय मिटर पश्चिममा आँपको रुख रहेको चउरमा सोमबार साँझ अन्दाजी २ लिटरको प्रेसर कुकरमा टेपले बाँधेर बिजुलीको तार जडान गरी राखिएको शङ्कास्पद वस्तु फेला परेको थियो । घटनास्थललाई रातभर प्रहरीले सुरक्षा दिएर राखेको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी पोखरेलले उक्त वस्तु नेपाली सेनासँगको समन्वयमा मङ्गलबार बिहान १०ः४३ बजेतिर डिस्पोज गरिएको जानकारी दिए । निष्क्रिय बनाउने क्रममा शङ्कास्पद वस्तु प्रेसर कुकर बम रहेको पुष्टि भएको हो । कुकरमा ३ वटा डेटोनेटरसमेत जडान गरेर बम तयार गरिएको पाइएको सैनिक स्रोतले बताएको छ । स्रोतका अनुसार डेटोनेटर जडान गरिएको कुकरभित्र साबुनको डल्ला र ढुङ्गा फेला परेको छ । ‘डेटोनेटरले कुकरलाई विष्फोट गराउन मद्दत गर्छ । साबुनले बारुद (जिलेटिन)को काम गर्छ । डेटोनेटर र साबुनको मिश्रणले ठूलो आवाजसहित कुकरलाई विष्फोट गराउँछ । कुकरभित्र राखिएको ढुङ्गाले वरपर क्षति पुर्याउँछ’–सैनिक स्रोतले भन्यो । बेलैमा बम निष्क्रिय पार्न सकिएका कारण ठूलो क्षति हुन नपाएको सुरक्षा स्रोतले बताएको छ ।