सुनसरीको इनरुवा क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा नेपाली रुपैयाँ बरामद गरेको छ । 

बरामद रकम करिब २ करोडको हाराहारीमा रहेको बुझिएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स्कारपियो गाडी चेकजाँचको क्रममा प्रहरीले सो रकम फेला पारेको स्रोतले जनाएको छ । ट्राफिकसँगको प्रहरीको संयुक्त छड्के जाँचका क्रममा सुनसरी खोलाछेउबाट उक्त परिमाणको रकम बरामद गरेको स्रोतले बतायो । स्रोतका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स्कारपियो चेकजाँचको क्रममा रकम भेटिएको हो । 

स्रोतका अनुसार स्कारपियोमा चालक मात्रै थिए । चालक भारत बिहार सुपोल वीरपुरका २२ वर्षीय मोहम्मद सैयद रहेको जनाइएको छ । नेपाली नोटसहित गाडी जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । 

फेला परेको रकम नक्कली हुन सक्ने आशङ्का गरिएको छ । सो बारेमा सुनसरी प्रहरीमा बुझ्दा रकम भेटिएको बताए पनि आधिकारिक विवरणसहितको जानकारी भने कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरेर मात्रै दिइने जनाएको छ । नोट नक्कली हो या सक्कली भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय सुनसरीले आधिकारिक जानकारी नदिए पनि उक्त नोट नक्कली भएको अनुमान गर्न सकिने स्रोत बताउँछ ।