उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य सङ्घको अगुवाइमा उर्लाबारीका अग्नि पीडितहरूलाई सहयोगी मनहरूबाट सङ्कलन भएको नगद बिहीबार वितरण गरिएको छ ।

सङ्घका अध्यक्ष शेरबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उर्लाबारी नगरपालिका–५ का वडाध्यक्ष रविन लामाले प्रमुख अतिथिको हैसियतले ५ जना मृतक परिवारसहित २८ घाइतेलाई जनही ३२ हजारका दरले राहत हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष यामलाल रसाइली, मोरङ सुनचाँदी व्यवयासी सङ्घका अध्यक्ष ज्ञानु श्रेष्ठ, निवर्तमान अध्यक्ष प्रितम खड्गी, निवर्तमान वरिष्ठ उपाध्यक्ष तारामान सिरेङसहितका वक्ताले आगलागीमा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

उर्लाबारीको मुख्य बजारलाइनमा रहेको दीपक कार्कीको घरमा गत कात्तिक २६ गते लक्ष्मीपूजाको राति आगलागी हुँदा घाइते भई उपचारका क्रममा ५ जनाले ज्यान गुमाएका थिए भने २३ जना उपचारपश्चात् घर फर्केका छन् । सोही समारोहमा मोरङ सुनचाँदी व्यवसायी सङ्घले पनि उर्लाबारी उद्योग वाणिज्य सङ्घको अभियानमा सहभागी भई १ लाख ८१ हजार ३ सय ६० रुपैयाँ हस्तान्तरण गरेको उर्लाबारी उद्योग उद्योग वाणिज्य सङ्घका महासचिव हेमराज गुरुङले बताए