विजयपुर । धरान उपमहानगरपालिका १३ नम्बर वडाका अध्यक्ष नेत्रप्रसाद काफ्लेले एक सामाजिक संस्थालाई वडा कार्यालयको एउटा कोठा निःशुल्क उपलब्ध गराएका छन् ।

अनलाइन मिडिया एसोसिएसन नेपाल नामक संस्थालाई सरकारी कार्यालयको कोठा निःशुल्क दिइएको हो । कानून व्यवसायी विदुर महतका अनुसार संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालयमा दर्ता भएकालाई मात्रै आधिकारिक संस्था भनी व्याख्या गरेको छ । उनी भन्छन्, ‘उक्त ऐनले जिल्ला प्रशासन कार्यालयको दर्तालाई मात्र आधिकारिकता दिन्छ । नगरमा दर्ता भएकालाई दिइएको हो भने गैरकानूनी हो ।’ वडाध्यक्ष काफ्लेले प्रमुख अतिथि बनेर कार्यालयको उद्घाटनसमेत गरेका छन् । कार्यक्रममा उपस्थित वरिष्ठ पत्रकार हर्ष सुब्बाले भने, ‘वडाध्यक्षज्यूले मन्तव्य राख्ने क्रममा निःशुल्क कोठा दिएको बताउनुभयो ।’

वडाध्यक्ष काफ्लेले केही समयका लागि दिइएको दाबी गरे । उनले भने, ‘दुई महिनाका लागि मात्र दिइएको छ । दुई–चार दिनपछि अन्तै लान्छन् होला ।’ उनले अन्य संस्थालाई पनि दिएको दाबी गरे । स्थानीय तहले एफ.एम.बाहेक अन्य सञ्चार संस्थाहरू दर्ता गर्ने अधिकार प्रत्यायोजन गरेको छैन । नेपालको संविधानको अनुसूची ८ ‘स्थानीय तहको अधिकारको सूची’ को ३ मा स्थानीय तहलाई ‘एफ.एम.’ सञ्चालन गर्न दिने अधिकार रहेको उल्लेख छ । सञ्चार संस्था प्रेस काउन्सिल तथा सूचना विभागमा दर्ता गर्नुपर्ने प्रावधान छ साथै जिल्ला प्रशासनमा पनि दर्ता गर्नुपर्छ । अनलाइन मिडिया एसोसिएसन नेपालका अध्यक्ष स्वर्णिमहाङ लिम्बूले कानूनी व्यवस्थाका विषयमा वडाध्यक्षलाई नै सोध्दा राम्रो हुने प्रतिक्रिया दिए । उनले भने, ‘झोलामा कार्यालय बोकेर हिँड्नु राम्रो हुँदैन भनेर कार्यालयका लागि कोठा मागेका थियौँ । सोअनुसार उहाँहरूले कोठा दिनुभयो । कानूनी व्यवस्थाका विषयमा वडाध्यक्षलाई नै सोध्नु राम्रो होला ।’

चालु आर्थिक वर्षमा दर्ता भएको एसोसिएसनको दर्ता नम्बर ६७ रहेको छ । अध्यक्ष लिम्बूले ब्लाष्टसँगको फोनसम्पर्कमा नगरमा दर्ता गरेको जानकारी दिए । सामाजिक संस्थालाई कोठा दिएको विषयमा एक पत्रकारले भने, ‘पत्रकार आचार–संहिताले निःशुल्क केही पनि लिन मिल्दैन ।’ कोरोना भाइरसका बिरामीलाई राख्न प्रयोग गरिएको वडा कार्यालयको माथिल्लो तलाको कोठा अनलाइन मिडिया एसोसिएसनलाई दिएको छ । उक्त अवसरमा तालिम पनि गरिएको छ । तालिमका लागि भने धरान–१५ का वडाध्यक्ष नरेश इवारमले रकम विनियोजन गरिदिएका हुन् । यस विषयमा बुझ्नका लागि धरान–१५ का वडाध्यक्षलाई फोन गर्दा उनको फोन व्यस्त रहेको पाइयो ।

onlineoffice1