धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलनप्रति चिन्तित बन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् डा. तोसिमा कार्कीले समस्या समाधान गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेकी छन् ।

सांसद् डा. कार्कीले पत्राचार गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिष्ठानको विवाद तत्काल सम्बोधन गर्न अपिल गरेकी हुन् । त्यसो त केही समयअघि नै प्रधानमन्त्री दाहालले प्रतिष्ठानका सह–कुलपतिसमेत रहेका स्वास्थ्यमन्त्रीलाई समस्या समाधान गर्न निर्देशन दिएका थिए । तर, सुनुवाइ भएको छैन । डा. कार्कीले मङ्गलबार प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रम दाहाललाई पत्र लेख्दै बन्द हड्तालका कारण प्रतिष्ठान धरासायी भएको बताएकी छन् । उनले प्रतिष्ठानजस्ता संस्थाहरू क्षयीकरण हुनु दुःखद् र नोक्सानको विषय उल्लेख गरेकी छन् ।

बीपी प्रतिष्ठान २०५० सालमा स्थापित भएको हो । कोशी प्रदेशको रेफरल सेन्टरको रूपमा परिचित रहेको प्रतिष्ठानले लामो समयदेखि बन्द हड्तालको मार खेप्दै आएको छ । पछिल्लो समय यहाँका चिकित्सक तथा कर्मचारी नै आन्दोलित बनेका छन् भने ओपिडीलगायतको सेवा अवरुद्ध हुन पुगेको छ । यसबाट दैनिक ३ देखि ४ हजार बिरामीहरू प्रभावित बनेका छन् । यता प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरूले पनि पढ्न पाउनुपर्ने माग गर्दै रिले असनस सुरु गरेका छन् ।

आन्दोलनमाथि आन्दोलनको मारमा पर्दै आएको भए पनि प्रतिष्ठानको समस्यामा निकास दिन नसकेकोप्रति डा. कार्कीले चिन्ता व्यक्त गरेकी हुन् । डा. कार्कीले शिक्षक तथा कर्मचारीको आन्तरिक बढुवा लामो समयदेखि रोकिएकाले उनीहरूमा उत्प्रेरणा र ऊर्जा हराउँदै गएको बताएकी छन् । बीपीमा पटक–पटक आन्दोलन र सहमति भए पनि समस्याको समाधान हुन सकेको छैन ।

गत भदौ १३ देखि २४ गतेसम्म र असोज २२ देखि कात्तिक २० गतेसम्म चरणबद्ध रूपमा भएका शिक्षक तथा कर्मचारीको आन्दोलनले विद्यार्थीको पठन–पाठनमा पनि असर परेको उनले उल्लेख गरेकी छन् । पछिल्लो समय पुस २९ गतेदेखि सूरु भएको तेस्रो आन्दोलनले शैक्षिक क्षेत्रसँगै अस्पताल क्षतविक्षत भएकाले समाधानका लागि पहल लिन आग्रह गरेकी हुन् ।