विजयपुर । धरान–१६ स्थित रङ्गशालामा जारी २४ औँ गोधुली टेष्टी टेष्टी नुडल्स रनिङ कप फुटबल प्रतियोगितामा धरान–८ लाई पराजित गर्दै धरान–१३ सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार सम्पन्न क्वार्टर फाइनल खेलमा धरान–१३ ले धरान–८ लाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा धरान–१३ का  जर्सी नम्बर ७ का खेलाडी मिलन राईले दोस्रो हाफको १८ औँ मिनेटमा गोल गरे ।

यस्तै ४२ औँ मिनेटमा पुनः अर्को गोल गर्दै टिमलाई अग्रता दिए । खेलको म्यान अफ द म्याच वडा १३ का मिलन राई घोषित भए । उनले माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरले प्रायोजन गरेको नगद २ हजार रुपैयाँको चेकसहित जीएफएक्स रेष्टुरेन्टको ५ सय रुपैयाँको गिफ्ट ह्याम्पर प्राप्त गरे । गोधुली फुटबल प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, रनिङ कप ट्रफी, मेडल पुरस्कार प्राप्त गर्नेछ ।

उपविजेतालाई ७५ हजार, ट्रफी, मेडल प्रदान गरिनेछ । आज (मङ्गलबार) चौथो  दिनको  क्वार्टर फाइनल खेलमा धरान–६ र धरान–१७ बीच प्रतिस्पर्धा हुने आयोजक गोधुली क्लबले जनाएको छ ।