धरानमा होटलबाट ब्राउन सुगरको कारोबार हुने गरेको खुलेको छ ।

आइतबार धरान–७ स्थित शुक्रपथको तीनजुरे होटल एण्ड लजबाट ब्राउन सुगरसहित होटल सञ्चालक पक्राउ परेसँगै उक्त तथ्य खुलेको हो । धरान–७ का वडाध्यक्ष जीवन सुवेदीका अनुसार प्रहरीले होटलबाट नगदसहित ८ ग्रामको १८ प्याकेट ब्राउनसुगर बरामद गरेको हो । 

उनका अनुसार होटल सञ्चालक अमृत भुजेल फरार रहेका छन् भने उनकी श्रीमती पूर्णकुमारी भुजेल पक्राउ परेकी छन् । यस्तै अर्का एक युवक पनि पक्राउ परेको उनले बताए । वडाध्यक्ष सुवेदीले भने, ‘होटलमा डिलर नै रहेछ ।’ वडाध्यक्ष सुवेदीका अनुसार प्रहरीले गोप्य सूचनाको आधारमा होटलमा छापा मारेको थियो । छापा मार्ने क्रममा पूर्णकुमारीले पैसा राख्ने गल्ला खोल्न नमानेपछि प्रहरीले वडाध्यक्ष सुवेदीलाई खबर गरेको थियो । वडाध्यक्षको रोहवरमा प्रहरीले पैसा राख्ने बाकस फोर्दा ब्राउनसुगर फेला पारेको वडाध्यक्ष सुवेदीले बताए । 

इलाका प्रहरी कार्यालयले दुई जनालाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले आफू कार्यालयबाहिर भएकाले आफूलाई पूर्ण जानकारी नभएको बताउँदै भने, ‘अनुसन्धान अधिकृतलाई सोध्नुहोस् ।’ अनुसन्धान अधिकृतलाई ब्लाष्टकर्मीले पटक–पटक फोन सम्पर्क गर्दा फोन उठाएनन् ।