विराटनगर । शृङ्खलाबद्धरूपमा मोटरसाइकल चोरी गर्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगरमा मोटरसाइकलको शृङ्खलाबद्ध चोरी गरेको आरोपमा प्रहरीले एक जना भारतीय नगारिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको अररिया जिल्ला, फारबिसगञ्ज अन्तर्गत मझुवा ग्राम पञ्चायतका ३५ वर्षीय सिकन्दर मण्डल रहेका छन् । प्रहरीले उनलाई सिसी टिभी फुटेजको आधारमा बुधबार पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । मण्डलले विराटनगरमा चोरी गरेको मोटरसाइकलहरू भारतमा लगेर बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी दाहालले बताए ।

सिसी टिभीले खिचेको दृश्यको सहयोगमा चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको उनले बताए । ‘मोटरसाइकल चोरीका घटना बढेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट विशेष अनुसन्धान टोली परिचालन गरिएको थियो । त्यस क्रममा मोटरसाइकल चोरी भएका केही सार्वजनिक स्थानका सिसी टिभीको दृश्य प्रहरीले अध्ययन गरेको थियो’ डिएसपी दाहालले भने, ‘चोरी गर्नेलाई पक्राउ गर्न सिसी टिभी फुटेजले ठूलो सहयोग पुर्यायो ।’ 

उनले चोरी गरेर भारततिर लैजाने तयारी गरेको अवस्थामा दुईवटा मोटरसाइकलसमेत बरामद गरिएको उनले बताए । बरामद भएको मोटरसाइकलका धनीलाई सम्पर्क गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपालमा चोरी गरेको मोटरसाइकलको नम्बर प्लेट फालेर भारततर्फ लैजाने उद्देश्यले विराटनगर–१४ मा लुकाई छिपाई राखेको अवस्थामा मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ । पल्सर र यामाहा कम्पनीको एफजेड मोटरसाइकल प्रहरीले बरामद गरेको हो । बरामद गरेको मोटरसाइकल सम्बन्धित धनीसँग सम्पर्क गरी कानूनी प्रक्रिया अगाडि बढाएको डिएसपी दाहालले बताए । पक्राउ परेका मण्डललाई मोरङ जिल्ला अदालतबाट बिहीबार पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

मोरङ प्रहरीले यसअघि पनि मोरङ र सुनसरीमा शृङ्खलाबद्ध रूपमा एक सय बढी मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुई जनाको गिरोहलाई  पक्राउ गरेको थियो । प्रहरीले मोटरसाइकल चोरीमा संलग्न गिरोह सुनसरीको हरिनगर–६ बस्ने ४० वर्षीय नजाम अन्सारी र भोक्राहा नरसिंह गाउँपालिका–२ बस्ने २३ वर्षीय निकाइल अन्सारीलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरूले भारतको जोगवनी, फारविसगञ्ज र फुल्काहालगायतका बजारमा पु¥याई बिक्री गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

‘पक्राउ परेका गिरोह शृङ्खलाबद्ध चोरीको घटनामा संलग्न रहेको प्रतिवादी रहेको खुलेको छ’ डिएसपी दाहालले भने, ‘विगतको घटनाक्रम पनि आपराधिक गतिविधिमा संलग्न रहेको छ ।’ चोरी गरी भारतीय बजारमा बिक्री गरिएका मोटरसाइकलहरू सुनसरीको देवानगञ्ज हुँदै सीमावर्ती भारतीय बजार कटियारतर्फ अवैध घरेलु मदिराको ओसार–पसारमा प्रयोग हुने गरेको पाइएको  प्रहरीले जनाएको छ । ‘चोरीमा संलग्न गिरोह पक्राउपश्चात् मोटरसाइकल चोरीका घटनामा समेत कमी आएको छ’–डिएसपी दाहालले भने ।