चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (आईसीडी) ले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।


वराहक्षेत्र-१ बगुवास्थित भगवती आधारभूत विद्यालयका ७४ जना बालबालिकालाई  विद्यालय पोशाक (ट्र्याक सुट र जुत्तामोजा)  वितरण गरिएको सहकारीकी अध्यक्ष सीता भण्डारीले पौडेलले जानकारी दिइन् ।

सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिक साधारण सभापश्चात विपन्न बालबालिका अध्ययन गर्ने विद्यालयमा सेवा र योगदान गर्ने अवसर प्राप्त गरेको सहकारीका व्यवस्थापक बाबुराम खत्रीले बताए । व्यवस्थापक खत्रीले २८ औं वर्षदेखि निरन्तर सेवामूलक कार्यमा सहकारी संस्था लागिपरेको उल्लेख गरे ।

Chatara sahakari

प्रमुख अतिथि वराहक्षेत्र-१ का वडाध्यक्ष किसन थापाले औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयले वडामा विभिन्न आवश्यकताहरु माग गरेकामा आगामी वर्ष फिल्टरसहितको ट्याङ्की र धारा उपलब्ध गराउने बताए । जाडो याममा बालबालिकाका लागि सहकारीसँग समन्वय गरी आधारभूत विद्यालयको आवश्यक्ता पूरा गरेको वडाध्यक्ष थापाले बताए ।

न्यानो कपडा हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर थापा,
वडासदस्यहरु कुमार भट्टराई, अमिना राई, विद्यालयकी प्रधानाध्यापक सीतादेवी राई, स्थानीय ईश्वर थापाका साथै सञ्चारकर्मीको सहभागिता रहेको थियो । विद्यालयलाई मायाको चिनोस्वरुप भित्तेघडी प्रदान गरिएको थियो भने विद्यालयका तर्फबाट सहयोगीलाई सम्मान गरिएको थियो ।

Sita Bhandari paudel Chatara sahakari

२०५५ सालमा स्थानीय महिलाहरुबाट दिनको १ रुपैयाँ रकम बचत सङ्कलन गरी स्थापना भएको सहकारीमा हाल ५ हजार बढी महिलाहरुसहित सेयर सदस्य रहेका छन् । सहकारीले हाल ६० करोड ऋण लगानी गरेको छ भने ५२ करोड बचत गरेको व्यवस्थापक खत्रीले बताए । उनका अनुसार ९ करोड शेयर पुँजी सङ्कलन भएको छ भने ७ करोड रुपैयाँ कोषमा जम्मा भएको छ । '९० करोडको वासलातमा हामी अगाडि बढेका छौं सबै पुँजी यही समुदायकै हो, त्यसैबाट हामी अघि बढेका छौं ।' व्यवस्थापक खत्रीले भने ।