धरान । आफ्नै बुबाको हत्या गरेको आरोपमा सुनसरी इनरुवा नगरपालिका–८ गणेशपुरका एक युवा पक्राउ परेका छन् ।

सोही स्थानका ७० वर्षीय चिकचिलिया ऋषिदेवको हत्या गरेको अभियोगमा २१ वर्षीय छोरा चिबु ऋषिदेव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । चिकचिलियाको कुटपिटबाट हत्या भएको प्रहरीले जनाएको छ भने छोरालाई सोमबार साँझ पक्राउ गरिएको छ ।

घरायसी लेनदेनको विषयलाई लिएर लिएर बाबुलाई माघ ११ गते दिउँसो कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको थियो । मृत्यु भएको खबरपश्चात् तत्कालै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।