चलचित्र 'खजुरे ब्रो' मा धरानका मेयर हर्क साम्पाङले पाएको अतिथि कलाकारको भूमिकाको छायाङ्कन सकिएको छ । एक मिनटको भूमिका रहेको साम्पाङको चरित्रको छायाङ्कन सकिएको चलचित्र निर्माण युनिटले जानकारी दिएको छ ।

यसअघि चलचित्र 'खजुरे ब्रो' मा धरानका मेयर साम्पाङको समेत भूमिका रहने निर्माण पक्षले जानकारी दिएको थियो । चलचित्र युनिटले धरानमा चलचित्र छायाङ्कन गर्नेबारे मेयर साम्पाङलाई भेट गरेरै जानकारी गराएको थियो । चलचित्र छायाङ्कनका लागि मेयर साम्पाङले सहयोग गर्ने वचन दिएको निर्माण पक्षको भनाइ छ ।

'धरानको आइकनिक व्यक्तिको विषयलाई लिएर यहाँको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्य रहेकाले नगरप्रमुखको अवश्य नै भूमिका रहन्छ,' कार्यकारी निर्माता डायमण्ड उप्रेतीले भने, 'चलचित्रमा उहाँको केही भूमिका हुनेछ ।'

पूर्वी नेपालको सांस्कृतिक सहर धरानको वस्तुस्थिति, परिवेश, संस्कार-संस्कृति र रहनसहनमा आधारित चलचित्र 'खजुरे ब्रो' निर्माण हुने भएको हो ।  पारिवारिक व्यङ्ग्यात्मक 'लाइट कमेडी' जनरामा आधारित व्यावसायिक चलचित्रले  धरानको संस्कृतिको प्रवर्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण पक्षको भनाइ छ ।

आठ वर्षअघि चलचित्र 'षडङ्ग' निर्देशन गरेका निर्देशक सुरज सुनुवारको निर्देशनमा बन्न लागेको चलचित्र ‘खजुरे ब्रो’ को टोलीले तेस्रो चरणको अध्ययनपछि छायाङ्कन सुरु गरेको हो ।

दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको चलचित्र नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्ने चलचित्रका कार्यकारी निर्माता डायमण्ड उप्रेतीले जानकारी दिए । शिशिर बिशङ्खेले छायाङ्कन गर्ने चलचित्रमा अनमोल गुरुङको संगीत रहनेछ। प्रकाश भुजेल युनिट प्रोडक्सन मेनेजर तथा प्रदीप भण्डारी लाइन प्रोडुसर रहेका छन्। हेम चन्द्र राई र सतिश राई स्थानीय को-अर्डिनेटर रहेका छन्। चलचित्रको छायांकन इटहरी,धरान,दार्जलिंग र काठमाडौँमा हुनेछ।

चलचित्रले  स्थानीय संस्कृतिको प्रवर्धन गर्ने, यहाँको राई जातिको साकेला, लिम्बू जातिको च्याब्रुङ नाच, चिन्डो, याङ्बेनदेखि अन्य जनजातिको मौलिक रहनसहन, कला र संस्कृति झल्कने छ ।

चलचित्रमा 'थियटर्स आर्टिस्ट' को बाहुल्यता रहने निर्माण पक्षको भनाइ छ ।  चलचित्रमा महेश त्रिपाठी, नवीन मानन्धरलगायत अधिकांश पूर्वकै आर्टिस्टहरु रहने छन् । धरानमा ९० प्रतिशत, काठमाडौ र केही 'सिन' दार्जीलिङमा खिचिने बताइएको छ ।