इलामको सूूर्याेदय नगरपालिका–७ कन्याममा २३ करोडको लगानीमा अर्थाेडक्स चिया अनुसन्धान तथा प्रवर्धन केन्द्र निर्माण भएको छ ।

चिया रोप्न सुरु भएको करिब एक सय ६० वर्षपछि इलाममा अनुसन्धान केन्द्र निर्माण हुँदा यहाँका किसानमा उत्साह थपिएको छ  । चिया किसान मनोज भट्टराईले केन्द्र स्थापनापछि चियामा लाग्ने स–साना रोगको पहिचान हुने र उत्पादन बढाउन किसानलाई सहज हुने बताए ।

चिया प्राविधिकसमेत गाउँमा नै उत्पादन गर्न केन्द्रले मद्दत गरेमा किसानलाई थप राहत मिल्ने उहाँको भनाइ छ ।

'यहाँ सामान्यतया चियामा उत्पादन नहुने, उत्पादन भएको चिया परम्परागतशैलीमा नै टिप्ने र प्रशोधन हुँदै आएको छ तर अनुसन्धान केन्द्रले चियामा नयाँ आयाम स्थापना गर्न मद्दत पुग्ने आशा छ', भट्टराईले भने ।

नगरपालिकाको एउटा ‘गौरवको आयोजना’ मानिएको यो केन्द्रको भौतिक निर्माण सम्पन्न भएको नगरप्रमुख रणबहादुर राईले जानकारी दिएका छन्  । 'यो देशकै पहिलो चिया अनुसन्धान तथा प्रवद्र्धन केन्द्र हो, केन्द्रको पूर्वाधार निर्माणको सबै काम सम्पन्न भएको छ', राईले भने ।

कोशी प्रदेश सरकार र नगरको साझेदारीमा करिब  २३ करोडको लागतमा यो केन्द्र निर्माण भएको हो ।
चियामा लागि उत्पादनका हिसाबले इलाम महत्वपूर्ण र उर्वर भूमि मानिन्छ । इलामको सूर्योदय नगरपालिकालाई त चियाको राजधानी नै भन्ने गरिएको छ । इलाममा अनुसन्धान केन्द्र स्थापना भयो अब नेपाली चियाको अनुसन्धान गर्न चाहनेका लागि सहज हुनेछ  ।

कृषक धीरज अधिकारीले भने, 'स्वदेश र विदेशमा रहेका चिया अध्ययन, अवलोकन र अनुसन्धान गर्नेसमेत आउने हुँदा अब हाम्रो जिल्लामा पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुने अपेक्षा छ ।'

यो नगरपालिका कोशी प्रदेशकै पर्यटकीय नगरी हो । केन्द्र निर्माणले समग्र जिल्लाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सरोकारवाला बताउँछन् । नगरपालिकामा अन्य पनि ठूला लगानीका आयोजनामध्ये कुनै निर्माणको अन्तिम चरणमा छन् भने कुनै धमाधम निर्माण भइरहेका छन् । नगरप्रमुख राईका अनुसार अन्तर्राष्ट्रिय दातामार्फत केही ठूलो लगानीका आयोजना आउने चरणमा छन् ।

उनले भने, '५० करोड लगानीमा पर्यटन, पूर्वाधार र कृषिका आयोजनाको काम भइरहेको छ, ६६ करोड लगानीको खानेपानी आयोजनाको काम धमाधम भइरहेको छ भने ३९ करोड लगानीको खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।'

फिक्कलमा १३ करोड रुपैयाँको लगानीमा अस्पतालको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको बताउँदै राईले ४४ करोड लगानीको भालुखोपबाट वडा नं १३ र १४ जोड्ने सडक निर्माण भइरहेको जानकारी दिए । नौ करोड लगानीको सिसासहितको ‘सस्पेन्सन ब्रिज’ निर्माण भइरहेको छ । १२ करोड लगानीमा स्वीस सरकारसँगको साझेदारीमा सिँचाइ आयोजनाको काम हुँदै गरेको र यसमा नगरसहित प्रदेश र सङ्घीय सरकारको साझेदारी रहेको उनको भनाइ छ ।

'स्वीस सरकारले पर्यटनसम्बन्धी विभिन्न आयोजनामा लगानी गर्न चासो देखाएको छ', प्रमुख राईले भने, 'नगरले आफ्नै लागत तथा अथक प्रयासमा प्रदेश र सङ्घको सहकार्यमा आयोजनाको काम गरिरहेको छ ।' सूर्योदय नगरपालिकाले ठूला आयोजनाको काम गरिरहेकामा नगरवासी खुसी देखिन्छन् ।

यही गतिमा सयौँ आयोजनाको काम सकिँदा विकासमा फड्को मार्ने आशा गरिएको स्थानीय रविन सापकोटा भन्छन्, 'हाम्रो नगरपालिका चियाको उर्वर भूमि हो । पालिकाले अनुसन्धान केन्द्र बनाएर राम्रो गरेको छ ।' इलाममा उत्पादित चिया १० प्रतिशत नेपालमा, ७० प्रतिशत भारत र थप २० प्रतिशत तेस्रो मुलुक निर्यात हुने गरेको जनाइएको छ  ।