विराटनगर ९ब्लाष्ट० राजस्व रकम हिनामिना मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका पाँच जना यातयातका पुर्व कर्मचारी पक्राउ परेका छन् ।

यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीका तत्कालीन लेखापाल मणिराज दाहालसहित पाँच जना पक्राउ परेका हुन् ।

प्रहरीले दाहालसहित नयराज नेपाल, कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाललाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

विशेष अदालत काठमाडौँले  २०७९ चैत ८ गते उनीहरूलाई भ्रष्टाचार (राजश्व रकम हिनामिना)  कसूरमा दोषी ठहर गरेको थियो । जसमध्ये तत्कालीन लेखापाल  दाहाललाई ७ वर्ष ११ महिना २३ दिन कैद र  ४ करोड ३४ लाख ५ हजार ५ सय ९४ जरिबाना, नेपाललाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३ सय ४२, कटुवाललाई ६ वर्ष कैद र १ करोड १ लाख ६५ हजार ८ सय १२, अधिकारीलाई ९ वर्ष कैद र  २८ करोड १५ लाख ९३ हजार ८ सय ८४ रुपैयाँ जरिबाना, देवराज नेपाललाई ८ वर्ष ६ महिना कैद र  २२ करोड ४५ लाख २७ हजार ६ सय ७६ रुपैयाँ जरिबाना फैसला गरेको थियो । उनीहरूबाट जम्मा ३९ वर्ष ५ महिना २३ दिन कैद र ६८ करोड ३२ लाख २२ हजार ३ सय ८ रुपैयाँ जरिबाना रहेको छ ।

यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीले आ.व. २०६९/०७० र ०७०/७१ मा भएको ८ करोड ९६ लाख १७ हजार ६२ रुपैयाँ राजस्व हिनामिना र आ.व. २०७१/०७२, २०७२/०७३ र २०७३/०७४ फागुन मसान्तसम्ममा भएको ६१ करोड २१ लाख २८ हजार ५ सय ५५ रुपैयाँ राजस्व हिनामिनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई मुद्दाको विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।

राजस्व रकम हिनामिना मुद्दामा यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीका चारजना उपसचिवसहित ११ जना कर्मचारीलाई विशेष अदालतले कैद सजाय सुनाएको थियो । कैद सजाय भएपछि उनीहरू फरार थिए । मोरङ प्रहरीले उनीहरूलाई विराटनगरबाट सोमबार साँझ पक्राउ गरेको मोरङ प्रहरीका डिएसपी  दाहालले जानकारी दिए । अदालतमा उपस्थित गराएर कैद सजाय भुक्तानको लागि मोरङ कारागार  चलान गरिएको उनले बताए ।

मोरङ प्रहरीले चालु आर्थिक वर्षको हालसम्म २ सय १५ जना फरार प्रतिवादी पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।