धनकुटाको पाख्रीबास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागार्ईंको घरको तल्लो तलामा आगजनी गर्ने एक जना पक्राउ परेका छन् । 

वडाध्यक्ष गुरागाईंको घरमा शनिबार मध्यरातमा आगजनी गरेको थियो । आगजनीबाट सामान्य क्षति पुगेको पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार एक जना पक्राउ परेका छन् । ‘घटना शङ्कास्पद देखिएपछि प्रहरीले अनुसन्धानको क्रममा एकजनालाई पक्राउ गरेको छ’ उनले फोन सम्पर्कमा भने, ‘उसको भनाइअनुसार ८० प्रतिशत कुरा मिलेको भन्ने आएको छ ।’ आगजनीबाट किचन दराज, सिरक, फ्रिजलगायतका सामग्री जलेको थियो । 

घटना शङ्कास्पद देखिएपछि पाख्रीबासस्थित इलाका प्रहरी कार्यालय अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेको छ । घरको तल्लो तलामा बाहिरबाट ढोकामा साँचो लगाएर आगजनी गरेको पाइएको थियो ।

घरको माथिल्लो तलामा परिवारहरू सुतेका थिए । आगजनीबाट तल्लो तलाका तीनवटा कोठामा क्षति पुगेको छ । मानवीय क्षति भने हुन पाएन । जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार घटना शङ्कास्पद रहेको भन्ने सूचना आएपछि सोहीअनुसार अनुसन्धान गर्दै जाँदा एकजनालाई ल्याई सोधपुछ गर्ने कार्य भइरहेको छ । ‘एकजनालाई सोधपुछ गर्ने काम भइरहेको छ’ उनले फोनसम्पर्कमा भने, ‘घरपरिवारले झै–झगडा आदि इत्यादि पनि नभएको, घरकै चाबी लगाएर आगो सल्काइदिएको भन्ने आएको छ । कसले ग¥यो होला भन्ने विषय भएकाले सोछपुछ भइरहेको हो ।’