सडक किनारमा रहेको सरकारी रुख पनि निजी भन्दै चोरी–तस्करी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ । सार्वजनिकस्थल सडक किनारमा रहेको रुख कटान गर्ने र निजी देखाएर चोरी–तस्करी गर्ने गिरोह मोरङको दक्षिणीक्षेत्रमा सक्रिय रहेको पाइएको हो ।

डिभिजन वन कार्यालय मोरङले जहदा गाउँपालिका–५ राजबर टोलबाट ठूलो परिमाणको सार्वजनिक स्थानमा रहेको रुख चोरी–तस्करी गरेर लैजाने क्रममा बरामद भएपछि यस्तो रहस्य बाहिर आएको छ । डिभिजन वन कार्यालयले चोरी–तस्करी गरेर लैजान लागेको ६० क्यु.फिट काठ आइतबार बरामद गरेको सहायक वन अधिकृत हेमन्त पराजुलीले जानकारी दिए । कदम, निम, जिलेबी प्रजातिको अवैध काठ बरामद गरेको उनले बताए । ‘सार्वजनिकस्थल सडक किनारमा रहेका रुखहरू पनि कटान गरी चोरी–तस्करी गर्ने गरेको पाइएको छ’ उनले भने, ‘हामीलाई विशेष सूचना आएको थियो । निजी जग्गाबाट केही रुखहरू कटान गर्ने र त्यसमा सडक किनारको रुख पनि कटान गरी निजी भन्दै बिक्री गर्न लैजाने क्रममा हामीले काठ बरामद गरेका छौँ ।’

डिभिजन वन कार्यालयले काठसहित को .२ त ५३०७ नम्बरको ट्याक्टरमा लोड भएको चालक र सवारी धनी धनपालथान गाउँपालिका–२ घर भई जहदा गाउँपालिका–४ रामचोक बस्ने वर्ष ३७ का कैलाश मण्डल र काठ चोरी–तस्करी गरेको आरोपमा जहदा गाउँपालिका–५ राजभर टोलका ५१ वर्षीय गणेश नुनिया पक्राउ परेको सहायक वन अधिकृत पराजुलीले बताए । ‘नुनियाले केही निजी जमिनमा भएका रुख पनि कटान गरेका छन् । त्यसमा धेरै सार्वजनिकस्थल सडक किनारमा भएका रुख कटान गरी निजी देखाएर बिक्री गर्न लैजाने क्रममा हामीले बरामद गरेका हौँ’–उनले भने । 

यसअघि पनि यस क्षेत्रबाट सडक किनारमा रहेका ७ वटा रुख कटान भएको देखिएको छ । यसअघि कटान भएका रुखको विषयमा पनि अनुसन्धान सुरु गरिएको उनले बताए । यसअघि कटान भई चोरी–तस्करी भएका ७ वटा रुख पनि नुनियाको समूहले गरेको हुनसक्ने आशङ्का गरिएको छ । यस विषयमा सूक्ष्म तरिकाले अनुसन्धान सुरु गरिएको उनले बताए । ‘यसअघि वन जङ्गलबाट मात्र चोरी–तस्करी हुने गरेको थियो’ उनले भने, ‘अहिले मोरङको दक्षिण क्षेत्रमा सार्वजनिकस्थल सडक किनारमा रहेका रुखहरू अवैधरूपमा कटान गर्ने र बिक्री वितरण गर्ने गरेको पाइएको छ ।’

यसरी सार्वजनिकस्थलमा रहेका रुख कटान गरी बिक्री वितरण गर्ने सवारी धनी र बिक्री गर्ने नुनियालाई डिभिजन वन कार्यालयले मोरङ अदालतमा सोमबार वन ऐन २०७६ अनुसार ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको सहायक वन अधिकृत पराजुलीले जानकारी दिए । बरामद गरिएको काठ कहाँ बिक्री गर्न लगिएको भन्ने खुलेको छैन । ‘त्यस विषयमा पनि हामीले अनुसन्धान सुरु गरेका छौँ’ उनले भने, ‘अनुसन्धानपछि त्यो पनि खुल्नेछ ।’

यसअघि पनि जहदा गाउँपालिका–४ स्थित सार्वजनिक माविअगाडि सार्वजनिक स्थलमा भएका रुख कटान गरी बिक्री वितरण गर्ने पाँच जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेको थियो । जहदा–४ का रामेश्वर मण्डल गनगाईं, दुखेश्वर गनगाईं, दोहन ऋषिदेव, कान्छा मसुर भनिने विशेस्वर ऋषिदेव र धनपालथान–६ का सुरेश यादव पक्राउ परेका थिए ।

पक्राउ परेकामध्ये सवारी धनी र चालक सुरेश यादव रहेका थिए । उनीहरूले सार्वजनिकस्थल सडक किनारमा रहेका रुख निजी भन्दै बिक्री वितरण गरेको पाइएपछि पक्राउ परेका थिए । पछि डिभिजन वन कार्यालयले अनुसन्धान पूरा गरी अदालतमा मुद्दा दायर गरेको थियो । मोरङ अदालतले उनीहरूलाई गत भदौमा जनही ११ हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो । त्यसबेला उनीहरूले बिक्री गर्न लैजान लागेको अवस्थामा डिभिजन वन कार्यालयले ७० क्यु.फिट काठ बरामद गरेको थियो ।द