धरान उपमहानगरपालिका–१ स्थित सिंहदेवी चोकमा आफ्नै साथीबीचमा खुकुरी हानाहान हुँदा दुई जना घाइते भएका छन् ।

दुईजनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । उनीहरूलाई ज्यान मार्ने उद्योगमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ ।

दुई पक्षले आफू–आफूबीच  धारिलो हतियारले प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धरान–१५ का १६ वर्षीय सोहिल श्रेष्ठ र धरान–३ का १६ वर्षीय सुजल सुन्दास घाइते भएका छन् । उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

उनीहरूलाई पनि प्रहरीले निगरानी बढाएको छ । प्रहरी घटना संलग्न अन्य दुई जनालाई नियन्त्रणमा लिएको छ । कार्यालयका अनुसार धरान घटनामा संलग्न धरान–१५ की ३२ वर्षीया आसिका जोशी र धरान–१६ का २२ वर्षीय विपिन राईलाई नियन्त्रणमा लिएको छ । घटना सुजलले सोहिलकी आमालाई गाली गरेको विषयमा विवाद भएको प्रहरी स्रोत बताउँछ ।