उर्लाबारी । तिहारको समयमा उर्लाबारी नगरपालिका ७ स्थित दीपक भट्टराईको भुइँतलामा रहेको सुन पसलमा भएको आगलागी निभाउने क्रममा घाइते भएकामध्ये तीनको उपचारको क्रममा ज्यान गएको छ ।

अन्य घाइतेको हाल उपचार भइरहेको छ तर घाइतेहरूलाई उपचारका लागि तत्कालै भारत लानुपर्ने माग गर्दै उर्लाबारीमा साङ्केतिक चक्काजाम गरेका छन् । लक्ष्मीपूजाका दिन सुन पसलमा लागेको आगो निभाउने क्रममा चार सुरक्षाकर्मीसहित २८ जना आगोले पोलेर घाइते भएका थिए । घाइतेमध्यको काठमाडौँ जिल्लास्थित कीर्तिपुर अस्पतालमा उपचाररत तपन पण्डितको दुई दिनअघि मृत्यु भएको छ ।

त्यस्तै अन्य दुई घाइते दीपक दाहाल र कुमार तामाङको बिहीबार मृत्यु भएको छ । घाइते भएका अन्यको उपचारका लागि भारत वा अन्य देश लानका लागि माग गर्दै स्थानीयले सडक जाम गरेका हुन् ।   उर्लाबारीस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी जाम गर्दै कीर्तिपुर अस्पतालमा उपचाररत बिरामीहरूलाई  भारत वा विदेश लैजान र निधन भएका परिवारलाई राहतसमेत दिन स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग माग गरे ।

घाइतेहरूको उपचारमा सरकारले ध्यान नदिए थप आन्दोलन पनि सुरु गरिने स्थानीयबासी वीरबल थापा र बलबहादुर घिसिङले जानकारी दिए । उक्त घटनामा घाइते भएकाहरूमध्ये दुई जना आफ्नै खर्चमा भारत गएका छन् भने २६ जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो ।

उनीहरूको सरकारी खर्चमा उपचार भइरहेको उर्लाबारी नगरपालिकाले जनाएको छ । घट्नमा परी गम्भीर घाईते बनेका २ जनाकोे आफनै खर्चमा भारत, २६ जनाको किर्तीपुर अस्पतालमा सरकारी  खर्चमा उपचारको लागि भर्ना गरीएको उर्लाबारी नगरपालिकाले जनाएको छ । उर्लाबारी नगरपालिका प्रमुख गङ्गाप्रसाद खरेल अवस्था बुझ्न अस्पताल पुगेका छन् ।