विराटनगर । मोरङ मिक्लाजुङका दुई जनाले जवानीमा गरेको अपराधको कैद सजाय १६ वर्षपछि पाएका छन् । मिक्लाजुङ गाउँपालिका–१ बस्ने ५० वर्षीय धनकुमार राई र सोही ठाउँका ७० वर्षीय देवीप्रसाद राईले कर्तव्य ज्यान मुद्दामा जवानीमा गरेको अपराधको सजाय १६ वर्षपछि पाएका हुन् ।

प्रहरीका अनुसार उनीहरूले २०६४ जेठ २० गते राति मोरङ रमितेखोला–४ हाल मिक्लाजुङ गाउँपालिका वडा नं.१ बस्ने वर्ष ३५ का सन्तोष राईलाई कुटपिट गरी हत्या गरेको आरोप छ । हत्या गरेपछि उनीहरूले जङ्गलमा लगी गाडेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । अनुसन्धानपछि २०६७ सालमा मोरङ अदालतको फैसलाले धनकुमार र देवीप्रसादलाई  पाँच वर्ष कैद सजय ठहर गरेको थियो । उनीहरूले अपराध गर्दा धनकुमारको उमेर ३४ वर्ष थियो भने देवीप्रसादको ५४ वर्ष थियो । उनीहरूले अपराध गरेको १६ वर्षपछि मङ्गलबार पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि मोरङ अदालतमा बुझाएर कैद भुक्तानको लागि मोरङ कारागार पठाएको छ ।

यसअघि पनि प्रहरीले खुनडाँका मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका अभियुक्तलाई मोरङ प्रहरीले ३६ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले कटहरी गाउँपालिका–७ का  ८७ वर्षीय विश्वास चौधरी थारू ३६ वर्षपछि खुनडाँका मुद्दामा पक्राउ गरेको थियो । ०४२ सालमा थारूविरुद्ध जिल्ला अदालत मोरङमा खुनडाँका मुद्दा परेको थियो । त्यतिबेला उनी ५१ वर्षका थिए । २०६१ जेठ १८ गते जिल्ला अदालतले चौधरीलाई सर्वस्वसहित जन्मकैदको सजाय तोक्यो । जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन हुँदै मुद्दा सर्वोच्चसम्म पुग्यो । २०६४ साउन १० गते सर्वोच्चले जिल्लाकै फैसलालाई सदर ग¥यो । अर्थात् चौधरीले सर्वस्वसहित जन्मकैदको सजाय बेहोर्नुपर्ने भयो ।

सर्वोच्चको अन्तिम फैसलापछि पनि चौधरी १८ वर्ष घरमै बसे । त्यतिबेला प्रहरीले उनलाई फरार सूचीमा राख्यो । उनी ३६ वर्षअघिको मुद्दामा बल्ल भदौ ९ गते पक्राउ परेका थिए । ८७ वर्षको गलेको शरीर लिएर चौधरी अहिले जेलमा पुगेका छन् ।

यस्तै विराटनगर महानगरपालिका–३ का ८५ वर्षीय धर्मध्वज थापाको घरमा २०४२ साल भदौ १८ गते राति डकैती गर्न एउटा समूह पसेको थियो । धर्मध्वजकी श्रीमती जीवनदेवीको हत्या गर्दै धनमाल लुटेर डाँका समूह गयो । धर्मध्वजले चौधरीसहित १४ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले घटनामा संलग्न १४ जनाविरुद्ध खुनडाँका मुद्दा चलायो । अदालतले सबैलाई दोषी ठहर गर्दै घटना भएको १९ वर्षपछि (२०६१ सालमा) कैद सजाय र जरिबानाको फैसला सुनायो । अदालतको फैसलापछि प्रहरीले उक्त घटनामा संलग्न ६ जना पक्राउ गरेको थियो ।

उल्लेखित घटनाले ढिलो चाँडो गलत काम गर्नेहरू कानूनी दायरामा आउँछन् भन्ने देखाएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर ६ गतेसम्म १ सय ६५ जना फरार प्रतिवादी पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याएको मोरङ प्रहरीको अभिलेखमा देखिन्छ । त्यसैले पुराना, अधुरा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरी घटनामा संलग्न प्रतिवादीहरू पक्राउ गर्न फरार प्रतिवादी पक्राउ अभियान नै सुरु गरिएको मोरङ प्रहरीका प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । अभियान अन्तर्गत चार महिनामा १ सय ६५ जना फरार प्रतिवादी पक्राउ गरिएको उनले बताए । ‘अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखी पक्राउ अभियान सुरु गरिएको हो’–उनले भने । अभियानका माध्यमवाट अपराध गरेर जतिदिन लुकिछिपी बसे पनि तोकिएको कैद वा जरिबाना भुक्तान नगरी छुट पाइँदैन भन्ने सन्देश पनि दिएको उनले बताए ।

‘अपराध गरेपछि सजाय भुक्तान नगरी बचेर बस्न सकिँदैन भनेर समाजमा सन्देश दिन र यही सन्देशका माध्यमबाट समाजमा अपराधको न्यूनीकरण पनि गर्नका लागि सचेतना फैलने आशा गरिएको छ’–एसपी पोखरेलले भने । जिल्लाको समग्र शान्ति सुरक्षा कायम राखेर अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानमा प्रहरी परिचालन हुँदै कानूनप्रतिको आडभरोसा कायम राख्न र पीडितलाई न्यायको अनुभूति दिलाउन लागिपरेको एसपी पोखरेलले बताए । ‘पीडक पक्षलाई कानूनबाट भाग्न वा बच्न सकिँदैन भन्ने डर पैदा गर्न सञ्चालित फरार अभियुक्त पक्राउ अभियानलाई मोरङ प्रहरीले प्राथमिकतामा राखी काम गर्दै आइरहेको छ’–एसपी पोखरेलले भने ।