इलाका प्रहरी कार्यालय रानी विराटनगरले चालु आर्थिक वर्षको चार महिनामा बरामद भएको करिब साढे तीन क्विन्टल गाँजा नष्ट गरेको छ ।

इप्रका रानीले शनिबार विराटनगर–६ स्थित डम्पिङ साइटमा आगो लगाएर बरामद गरेको गाँजा नष्ट गरेको हो ।
चालु आर्थिक वर्षको साउनदेखि भदौसम्म इप्रका रानीले विभिन्न मितिमा करिब ३ क्विन्टल गाजा बरामद गरेको थियो । बरामद गरेको गाँजा स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन, स्थानीय र संचारकर्मीहरुको उपस्थितिमा नष्ट गरेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्दीप वेल्वासेले जानकारी दिए ।

पहाडी जिल्ला गाँजा तस्करी भएर भारत जाने गर्दछ । तस्करको समूहले धनकुटा र भोजपुरदेखि भारत लैजान लागेको गाँजा प्रहरीले बरामद गरेको थियो ।  यसरी बरामद गरेको गाँजा राखेर सामूहिक रुपमा नष्ट गरेको प्रहरीले जनाएको छ ।
खुल्ला सीमाको फाइदा उठाउँदै कोशी प्रदेशमा पछिल्लो समय  लागूऔषध प्रयोग र कारोबार बढ्दै गएको छ । लागूऔषध मानव स्वास्थ्यका लागि हानिकारक छ । केवल व्यक्तिका लागि मात्रै होइन परिवार र समाजकै लागि यो घातक वस्तु हो । तर यसको प्रयोग बढ्नु चुनौतीपूर्ण छ ।

Biratnagar police baramad gaja nashTa

सीमावर्ती प्रहरी युनिटको तथ्यांकले लागूऔषधको अवस्था भयावह बनिरहेको देखाउँछ । पछिल्लो ३ वर्षको तथ्यांक विश्लेषण गर्दा लागूऔषधसँग सम्बन्धित मुद्दा बढेको पाइएको छ । लागूऔषधका मुद्दा बढ्नुले यसको कारोबार र ओसारपसारसँगै सेवनकर्तासमेत बढेको निष्कर्षमा प्रहरी पुगेको छ ।

इप्रका रानीको आर्थिक वर्ष २०७९-०८० मा विभिन्न अपराधसँग सम्बन्धित ३ सय २२ वटा मुद्दा दर्ता भएको अभिलेखमा देखिन्छ  । एक वर्षमा ३ सय २२ वटा मुद्दा दर्ता भएको मध्ये लागूऔषधसँग सम्बन्धित मात्रै २ सय ७ वटा छन् । जुन प्रतिशतको हिसाबले ६४.२८ प्रतिशत हुन आउँछ । प्रहरी हिरासत सधैँजसो लागूऔषध सम्बन्धी मुद्दाका थुनुवाले नै भरिने गरेको छ ।
रानीबाट आर्थिक वर्ष २०७८-०७९ मा लागूऔषधसँग सम्बन्धित १ सय ९३ वटा मुद्दा दर्ता भएको थियो । २०७७-०७८ मा १ सय १ वटा मुद्दा दर्ता भएका थिए । सीमा क्षेत्रमा लागूऔषधको तुलनामा अन्य अपराधसँग सम्बन्धित मुद्दा कम छन् ।