कराते प्रशिक्षक विराटनगरका विनोद राउत र सुरज सुवेदीको कसूर अदालतले ठहर गरेको छ ।

सामूहिक बलात्कार कसूरमा पुर्पक्षको लागि कारागारमा रहेका राउत र सुवेदीको कसूर मोरङ अदालतले ठहर गरेको हो । मोरङ अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले राउत र सुवेदीले गरेको कसूर ठहर गरिदिएका हुन् । कसूर ठहर भएपछि सजाय निर्धारण भने अर्को पेशी कात्तिक २२ गतेको इजलासले तोक्ने मोरङ अदालतको सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

मुलुकी फौजदारी अपराध संहिता ७४ दफा २१९ अन्तर्गत दुवैलाई जबरजस्ती करणीतर्फ सातदेखि १० वर्षसम्म सजाय माग गरी जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग दायर गरेको थियो ।

दफा २१९ कै सामूहिक जबरजस्ती करणीतर्फ थप पाँच वर्ष सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो । विराटनगर महानगरपालिका–४ का ५० वर्षीय राउत नेकपा एमाले निकट नेपाल खेलकुद महासङ्घका केन्द्रीय सचिव हुन् भने अर्का आरोपित सोही स्थानका ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन् । उनीहरूले सोही कलेजमा अध्ययनरत इटहरीकी १९ वर्षीया छात्रालाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए ।

पीडित युवतीमाथि सामूहिक र पटक पटक करणी हुँदै आएको अभियोग पत्रमा उल्लेख छ । अन्तिम पटक भने गत असार २८ गते सुवेदीले करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको छ । पीडितमाथि जेठ महिनामा विराटनगरको मुनाल पथ स्थित विराट होटेलमा सुवेदी र राउतले सामूहिक करणी गरेका उजुरीमा उल्लेख थियो ।

युवतीको अश्लील भिडिओ बनाई उनीमाथि पटक पटक करणी हुँदै आएको पीडितले दिएको जाहेरीमा उल्लेख छ । जवरजस्ती करणी मुद्दामा राउत र सुवेदीलाई २०७९ भदौ ६ गते मोरङ जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले उनीहरूलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो । अदालतको आदेशपछि दुवैजना पुर्पक्षका लागि मोरङ कारागारमा रहेका थिए ।