झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुन्तीदेवी बुढाथोकीसहित १० जनालाई भ्रष्टाचार मुद्दामा तीन महिना कैद सजाय भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको करिब चार महिनामै अदालतले फैसला सुनाउँदै ११ आरोपीमध्ये १० जनालाई दोषी ठहर गरेको छ । सडक निर्माणमा भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतले बिहीबार तीन महिना कैद र १० हजार जरिबानाको फैसला गरेको हो ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार अध्यक्ष साह, पूर्वउपाध्यक्ष बुढाथोकी, वडा नम्बर ६ का तत्कालीन अध्यक्ष हरिबहादुर बानियाँ, वडा नम्बर ७ का नेत्रप्रसाद उप्रेती र वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष मोतीलाल गणेशलाई पनि समान सजायको फैसला भएको छ । गाउँपालिकाका इन्जिनियर अभिशेष दास र सवइन्जिनियर विज्ञान चम्लागाईंलाई तीन महिना कैद र १० हजार रुपैयाँ जरिबानाको सजाय तोकिएको छ ।

भ्रष्टाचारमा मुछिएका उपभोक्ता समितिका पदाधिकारी पनि दोषी ठहर भएका छन् । लक्ष्मीमार्ग बाटो उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणीन्द्रप्रसाद खरेल, कोषाध्यक्ष सन्तमाया सुब्बा लिम्बूलाई चार महिना कैद र चार लाख ४१ हजार ९६४ रुपैयाँ जरिवाना भएको छ ।

गाउँपालिकाका प्रशासकीय अधिकृत चोलाराज दङ्गालको भने अनियमिततामा प्रष्ट मिलेमतो नदेखिएको भन्दै सफाइ पाएका छन् । आर्थिक वर्ष ०७४÷०७५ मा झापा गाउँपालिकाको वडा नम्बर ३, ६ र ७ मा बाटो ग्राभेल गर्दा वास्तविक कामभन्दा धेरै काम भएको नापी किताब तयार गरी नक्कली बिल बनाएर भुक्तानी गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले गत २७ असारमा मुद्दा दायर गरेको थियो ।

२२ लाख ८ सय २३ रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको दाबीअनुसार नै विशेष अदालतले फैसला सुनाएको हो ।