पछिल्लो समय म्युजिक भिडियोमा छाइरहेका मोडल तथा अभिनेता बादल श्रेष्ठ अभिनित गीत ‘सागर बरु सुकेर गैजाला’ युट्युबको ‘मिलियन भ्युज क्लब’ मा प्रवेश गरेको छ । 

सदाबहार गायक दीपक लिम्बूद्वारा गाइएको गीत युट्युबमा ‘एक मिलियन’ पटक भन्दा बढी हेरिएको छ । दीपक लिम्बू युट्युब च्यानलमाा अपलोड गरिएको म्युजिक भिडियो हालसम्म १० लाख २६ हजार १ सय १७ पटक हेरिएको छ ।

सिन्धु रानाको शब्दमा रहेको गीतलाई रेशमलाल चौधरीले कम्पोज गरेका हुन् भने ससिका राईको समेत गीतमा सहगायन रहेको छ । 

म्युजिक भिडियोमा बादल श्रेष्ठ र गरिमा शर्माको अभिनय रहेको छ । विकास धमलाको सम्पादन रहेको भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । 

भीषण राईद्वारा निर्देशित चलचित्र ‘पुरानो बुलेट’ र ‘कोशी ब्लुज’ मा समेत अभिनय गरेका मोडल बादल श्रेष्ठले उत्कृष्ट गीत र सदाबहार गायक दीपक लिम्बूको स्वर रहेको गीतको म्युजिक भिडियोसमेत दर्शकले मन पराएको बताए । 

badal shrestha (2)

मोफसलमा बसेर कलाकारितामा संघर्ष गरिरहेका बादलले हालसम्म ३५ बढी म्युजिक भिडियोमा काम गरिसकेका छन् । दुई वटा नेपाली कथानक चलचित्रमा अभिनय गरेका बादललको पछिल्लो चलचित्र ‘कोशी ब्लुज’ प्रदर्शनको तयारीमा रहेको छ । 

अनुपविक्रम शाही, वर्षा शिवाकोटी, पल शाहलगायतका कलाकारसँग स्क्रिन सेयर गरिसकेका बादलले चर्चित गायक–गायिका राजेशपायल राई, स्वरुपराज आचार्य, अन्जु पन्त, दीपक लिम्बू, मिलन नेवार, मेलिना राईलगायका गीतको म्युजिक भिडियोमा काम गरिसकेका छन् । 

एक दशकको कलायात्रामा बादलले उत्कृष्ट अभिनयसहित आफूलाई सिने क्षेत्रमा स्थापित गर्न संघर्ष गरिरहेको बताउँछन् ।

बादल अभिनित म्युजिक भिडियोहरु हेर्नुहोस्