विराटनगर । भारतीय नागरिकले सञ्चालनमा ल्याएको सुनचाँदी पसलमा चाँदीको तयारी गहना भारतबाट तस्करी गरी ल्याउने गरेको अनुसन्धानबाट खुलेको छ ।

भन्सार छली गरी भारतबाट तयारी चाँदीको गहना विराटनगर महानगरपालिका–११ पिचरास्थित पशुपति ज्वेलर्समा आउने गरेको पक्राउ पछि खुलेको हो । बिहीबार दिउँसो सरकारी टोलीले छापा हानेर अवैध रूपमा भित्रिएको ठूलो परिमाणमा तयारी चाँदीको गहना बरामद गरेको छ ।

टोलीले पशुपति ज्वेलर्सका सञ्चालक भारतीय नागरिक विश्वजीत जनालाई पनि पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । टोलीले ज्वेलर्सबाट पाँचवटा प्लाष्टिकको झोलामा चाँदीको गरगहना बरामद गरेको उनले जानकारी दिए । बरामद गरेकोमध्ये चाँदी ९९ केजी ९९४.५ ग्राम र  सुन १३ तोला रहेको टोलीले जनाएको छ । विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालले बरामद गहना ९९ केजी भन्दा बढी चाँदी र १३ तोला सुन रहेकोे बताए ।

गोप्य सूचनाका आधारमा विराटनगरस्थित प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त टोलीले ज्वेलर्समा छापा हानेको थियो । चाँदीबाट बनेका पाउजु, ब्रासलेट, औँठी, दियो, लोहोटा, मूर्ति, टीकादानीलगायतका सामग्री एवम् गहना बरामद भएको उनले जानकारी दिए ।

विश्वजितले भन्सार छली गरेर तयारी गहना नेपाल ल्याउँदै आफ्नो ज्वेलर्समा राख्ने र विराटनगर, इनरुवा, धरान, इटहरी, विराटचोक, उर्लाबारी, दमक, बिर्तामोडलगायत पूर्वका विभिन्न सहरमा पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ज्वेलर्सबाट सबैभन्दा बढी सुन–चाँदीका तयारी मालवस्तु विराटनगरका विभिन्न पसलमा पुग्ने गरेको थियो ।

तिहारको छेकोमा चाँदीको तयारी समानको तस्करी हुँदै आएको थियो । पूजामा प्रयोग हुने विभिन्न सामग्री बनाएर भारतबाट नेपालतर्फ तयारी चाँदी तस्करी हुने गरेको खुलेको छ । नेपालबाट भारततर्फ चाँदी तस्करी हुने र त्यही चाँदीबाट विभिन्न सामग्री बनाई फेरि नेपालतर्फ नै अवैध ढङ्गले पठाउने गरेको प्रहरीले जनाएको छ । यसअघि पनि सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) रानीले विराटनगर–१६ देखि करिब २ केजी चाँदीसहित एक जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा विराटनगर–१५ का ४५ वर्षीय बलराम सिंह रहेका थिए । उनी भरिया रहेको प्रहरीले जनाएको छ । ‘अवैध रूपमा चाँदी भारततर्फ तस्करी हुने र भारतदेखि विभिन्न आकार दिँदै सामग्री तयार पारी नेपालतर्फ तस्करी गर्ने गरेको पाइयो’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने । नेपालदेखि काँचो चाँदी भारततर्फ पठाउने र उत्ताबाट तयारी सामान बनाएर विराटनगरतर्फ भरिया प्रयोग गरी ल्याउने गरेको ती अधिकारीले बताए ।

चाँदीबाट मूर्ति, चम्चा, आचमनी, पञ्चपात्रो, छत्री, माछा र विभिन्न गरगहना बनाएर भारतबाट तयारी सामान तस्करी हुने गरेको प्रहरीले जनाएको छ । धन्तेरसको दिन चाँदीको कारोबार बढी हुने गर्दछ । त्यही भएर यहाँका केही व्यापारीले भरियालाई निश्चित रकम दिएर चाँदीको गहना विराटनगर ल्याउने गर्दछन् । ‘विभिन्न सामग्री बनाएर ल्याउने नाममा चाँदी तस्करी हुन थालेको पाइएको छ’ मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले भने, ‘प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी बढाएका छौँ ।’