धरान । स्रोत नखुलेको रकमसहित एकजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार मोरङको विराटनगर महानगरपालिका ६ शनिमन्दिर चोकबाट कोशी प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो ।

प्रहरीले १६ वर्षीय नाबालकको साथबाट पछाडि भिर्ने कालो झोलामा बोकेर ल्याउँदै गरेको हुण्डी कारोबारको रकम २१ लख ८७ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

निजको साथबाट मोटरसाइकल र कागजपत्रसमेत बरामद गरिएको छ । प्रहरीले एक हजार रुपैयाँका १६ सय ८७ थान र पाँच सय दरका एक हजार थान बरामद गरेको छ ।

त्यस्तै अन्य सामग्रीमा कुमारी बैङ्कको एक थान चेकबुक, एनआइसी एसिया बैङको काटिएको १ थान चेक, प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको मोटरसाइकल र ग्लोबल आइएमई बैङ्क लिमिटेडमा विभिन्न मितिमा जम्मा गरिएको चार थान रसिद बरामद गरेको छ ।