बाल यौन दुरुपयोग गरेको आरोपमा वराहक्षेत्रका एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत जनस्वास्थ्य निरीक्षक सुनिल पोख्रेललाई बुधबार इलाका प्रहरी कार्यालय चक्रघट्टीले जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ गरेको हो ।

मङ्गलबार साढे ४ बजे कोठामा सामान लिएर गएकी ९ वर्षीया बालिकालाई ३१ वर्षका निरीक्षक पोख्रेलले जबर्जस्ती काखमा बसाएर बालिकाको संवेदनशील अङ्गहरूमा छोएको, उनको मुख तथा गालामा चुम्बन गरेको र अश्लील भिडियो देखाएको पीडित परिवारले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

भाग्न खोज्दा बालिकालाई २ सय रुपैयाँ दिने भन्दै 'कसैलाई नभन्नू' भनेको जाहेरी दरखास्तमा उल्लेख गरिएको छ ।

भागेर घर पुगेकी बालिकाले स्वास्थ्यकर्मी पोखरेलले आफूलाई चुम्बन गरेको र यौनाङ्गमा छोएको आफ्नी आमालाई सुनाएकी थिइन् । परिवारले प्रहरीमा उजुरी दिएपछि पोख्रेललाई पक्राउ गरिएको थियो । उनलाई करणी प्रयासको आरोपमा म्याद थपको लागि सुनसरी जिल्ला अदालत पठाइएको छ भने बालिकालाई जिल्ला अस्पताल इनरुवामा स्वास्थ्य परीक्षण गराउन लगिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

घटनाको विषयमा जानकारी लिन फोन सम्पर्क गर्दा सुनसरी जिल्ला प्रहरीका प्रवक्ता डिएसपी नवीन सिंह भण्डारीले यो विषयमा सूचना दिन नमिल्ने बताए ।