फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले मङ्गलबार इजरायल भ्रमण गर्ने तयारी गरेको जेरुसेलम पोस्टले उल्लेख गरेको छ। इजरायलमा हमास आतङ्ककारी समूहले गरेको घातक आतङ्ककारी हमलापछि हुन लागेको उनको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ ।  

हमास समूहद्वारा अक्टोबर ७ देखि इजरायलमा गरिएका शृंखलाबद्ध हमलामा परी १,४०० इजरायलीको हत्या  भएको छ ।  करिब २ सय जनालाई अपहरण गरिएको छ । 

हमास आतङ्ककारीहरूले अपहरण गरेका मध्ये एक जना फ्रान्सेली इजरायली नागरिक माया स्किम सोमबार टेलिग्राममा पोस्ट गरिएको भिडियोमा देखा परेका थिए ।  सो भिडियो सार्वजनिक भएपछि  म्याक्रोनले उनको तत्काल  निःशर्त रिहाईको माग गरेको  द जेरुसेलम पोस्टले उल्लेख गरेको छ। म्याक्रोन  इजरायलका दृढ समर्थक हुन् ।

यसअघि अक्टोबर ८ मा म्याक्रोनले इजरायली समकक्षी आइज्याक हर्जोग र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग वार्ता गरेका थिए ।  इजरायलमा गरिएको आक्रमणको निन्दा गर्दै फ्रान्सले पीडित देशलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको थियो ।

हमासको आक्रमणपछि शनिबार बिहान दक्षिणी र मध्य इजरायलमा रकेटको ब्यारेज प्रहार भएपछि म्याक्रोनले नेतान्याहु र हर्जोगसँग वार्ता गरेका थिए । 

सामाजिक सञ्जालमा म्याक्रोनले उल्लेख गरेका छन् । मैले राष्ट्रपति हर्जोग र प्रधानमन्त्री नेतन्याहुसँग कुरा गरेको छु। म गाजाबाट इजरायल, त्यहाँका सैनिक र त्यहाँका जनतामाथि गरिएको आक्रमणको निन्दा गरेको छु। फ्रान्स, इजरायल र इजरायलीहरूसँग ऐक्यबद्धतामा उभिएको छ र तिनीहरूको सुरक्षाका निम्ति दृण छ ।ू 

 यसै बीच हमासले इजरायलमा आक्रमण गरेपछि बेपत्ता भएका थुप्रै फ्रान्सेली नागरिकका परिवारका सदस्यहरूसँग सोमबार फ्रान्सका पूर्वप्रधानमन्त्री म्यानुअल भाल्सले भेट गरेका छन् ।

उनले तेल अवीवमा बेपत्ता भएकाहरूको परिवारलाई सान्त्वना दिएका छन् ।  इजरायलको राष्ट्रिय एकता पार्टीका नेता बेनी गान्ट्जले जर्मन चान्सलर ओलाफ स्कोल्जसँग भेट गर्न लागेको  जेरुसेलम पोस्टले जनाएको छ ।

गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायली हवाई आक्रमणमा मारिएका प्यालेस्टाइनीको सङ्ख्या २ हजार ७५० पुगेको छ भने घाइतेको सङ्ख्या ९ हजार ७ सय पुगेको छ । मन्त्रालयले इजरायली आक्रमणमा मारिएका व्यक्तिहरूमा  ७ सय ५० भन्दा बढी बालबालिका रहेको बताएको  छ।

हमासको आक्रमणबाट इजरायलमा मर्नेको सङ्ख्या अहिले १,एक हजार ४सय भन्दा बढी भएको इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले जनाएको छ।