भद्रपुर । तीन दिनअघि दमकमा भएको एक हत्या प्रकरणमा संलग्न मुख्य आरोपीसहित ११ जनालाई पक्राउ गरी झापा प्रहरीले सार्वजनिक गरेको छ ।

दमक–१ स्थित रुवेल माछा फ्राईमा साथीहरूबीच झगडा हुँदा छुरा प्रहारबाट मृत्यु भएका इलाम चुलाचुली गाउँपालिका–३ का ३८ वर्षीय गोविन्द लिम्बूको हत्यामा संलग्न मुख्य आरोपी दमक–७ का २२ वर्षीय सनम राईसहित ११ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय दमकमा सोमबार अपरान्ह पत्रकार सम्मेलन गरी मुख्य आरोपी राईसहित दमक–१ का २२ वर्षीय आनन्द भुजेल, ७ का १८ वर्षीय सवास आलम, १ का कुमाल चौकस्थित रुवेल माछा फ्राईका सञ्चालक विशाल कुमाल, १ का २५ वर्षीय नामुद थेवे, २२ वर्षीय राजकुमार भुजेल, २६ वर्षीय आकाश केरुङ, ७ का २३ वर्षीय राहुल श्रेष्ठ, २८ वर्षीय सलमान लिम्बू, इलाम चुलाचुली–४ का ३१ वर्षीय सन्दिप राई, सोही पालिका–३ का ३८ वर्षीय सूर्य केरुङ, ३८ वर्षीय उपेन्द्र राईलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले बताए । घटनाकै दिन होटल सञ्चालक कुमालसहित ८ जना र सोमबार मुख्य आरोपी सनम राईसहित तीन जनालाई मोरङको उर्लाबारी–१ टप्पु टोलबाट नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनका अनुसार तीन दिनअघि दमक–१ स्थित कुमाल चौकको रुवेल माछा फ्राईमा मदिरा सेवन गरेपछि आपसी झगडा हुँदा मुख्य आरोपी राईले लिम्बूको घाँटी तथा हातमा छुरा प्रहार गरी हत्या गरेका थिए । हत्यालगत्तै उनी फरार भएका थिए । उनले नै लिम्बूमाथि छुरा प्रहार गरेको अनुसन्धानका क्रममा खुलेको डिएसपी रिजालले बताए ।

फरार आरोपीलाई पक्राउ गर्न कोशी प्रदेश प्रहरी कार्यालयका सइ रुद्र खड्का, इप्रका दमकका इन्स्पेक्टर डम्बर विश्वकर्मासहित झापा प्रहरीले संयुक्त टोली परिचालन गरेको थियो । मुख्य आरोपी राईले हत्यामा प्रयोग गरेको छुरा विराटनगर महानगरपालिका–९ स्थित सन्सारी मन्दिरछेउको झाडीमा फ्यालेका थिए । सो छुरा फेला पारी बरामद गरिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको इप्रका दमकका डिएसपी मनोजकुमार लामाले बताए ।