नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा सहमतिको रटान लगाए पनि अन्ततः चुनावबाट नेतृत्व चयन गरिएको छ ।

सहमति गर्न नमान्नेले चुनावलाई लोकतान्त्रिक पद्धति भन्ने र चुनाव गर्न नचाहनेले पार्टी नीति र नेतृत्वको निर्णय मान्ने दुई अन्तरसङ्घर्षबाट कोशी प्रदेशमा एमालेले नेतृत्व प्राप्त गरेको छ । कोशी प्रदेश प्रचार विभागका प्रमुख रहेका घनश्याम खतिवडा र एमालेका केन्द्रीय सदस्य रहेका विनोद ढकालबीच केही फासलाको मतान्तरले नेतृत्व लिने जनादेश तय गरेको छ ।

२०६६ सालमा एमालेको मोरङ जिल्ला अध्यक्षमा प्रतिस्पर्धा गरेका यी दुईमध्ये त्यसबेला ढकालले सफलता पाएका थिए । त्यसताका ढकाल केपी ओली समूहबाट र खतिवडा माधव नेपाल समूहबाट उम्मेदवार बनेका थिए । जिल्ला अध्यक्षमा भिडेको १४ वर्षपछि प्रदेश अध्यक्षमा आमनेसामने भएका दुई नेताबीचको प्रतिस्पर्धामा खतिवडाले बाजी मारे ।

१४ वर्षअघि जिल्ला अध्यक्षमा भएको हारको बदला प्रदेश अध्यक्षमा खतिवडाले पूरा गरे ।

नेताहरु ढकाल र खतिवडाको चुनावी प्रतिस्पर्धामा प्रदेशबाट प्रतिनिधित्व गर्ने स्थायी कमिटी सदस्यहरू पनि दुई तिर विभक्त देखिएका थिए । एमालेको आठौँ महाधिवेशनदेखि खतिवडा पनि ओली समूहमै पुगेपछि यी दुई नेता एउटै समूहमा थिए ।

चुनावमा चरमगुटबन्दी
ढकाल र खतिवडा दुवै पक्षले चुनावमा आ–आफ्ना प्यानल बनाए । गुट र प्यानल नबनाउन एमाले अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले दिएको निर्देशन विपरीत कोशी प्रदेशमा एमालेले प्यानलको अभ्यास सुरु गर्यो ।

भित्रभित्रै नेताले प्यानलको लिस्ट बाँडे । अधिवेशनमा सहभागी प्रतिनिधि असन्तुष्ट देखिए पनि उनीहरुले आफ्नो लाइनमा मतदान गरे, र प्यानलै निर्वाचित गराए ।
पदाधिकारीअन्तर्गत उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित भए । ढकाल र खतिवडा दुवै प्यानलबाट पर्न सफल चेम्जोङ सर्वसम्मत भएका थिए ।

खतिवडा प्यानलका सचिव राजकुमार भण्डारी र उपसचिवमा देउमान राई साथै जलवर्षा राजवंशी निर्वाचित भए ।

यसअघि प्रदेश कमिटीको सदस्यमा इलाम जिल्लाबाट १५ जना निर्विरोध निर्वाचित भएका थिए । इलामबाट खुल्लातर्फ १० र ५ महिला गरी १५ जना सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।