विजयपुुर । कोशी लोकमार्गअन्तर्गत छ लेन सडक आयोजनाअन्तर्गत निर्माण हुँदै आएको सुनसरीको इटहरी–२० स्थित तरहरादेखि सेउती खोलासम्मको सडकको ठेकेदार सम्पर्कमा आएको आयोजनाले जनाएको छ ।

आयोजनाले २०८० असोज ११ गते एकदिने समयसीमा दिएर उपस्थित हुन पत्राचार गरेपछि ठेकेदार कम्पनी हिमढुङ्ग–प्यासिफिक जेभीका प्रतिनिधि सम्पर्कमा आएका हुन् । रानी–विराटनगर–इटहरी–धरान सडक योजना प्रमुख दानबहादुर शाक्यले ठेकेदार कम्पनी सम्पर्कमा आएको जानकारी दिए । उनका अनुसार ठेकेदार कम्पनी हिमढुङ्ग–प्यासिफिकले काम पनि सुरु गरेको छ । केही दिनमा ६ सय मिटर कालोपत्रे गर्ने काम सुरु गर्ने ठेकेदार कम्पनीलाई उद्धृत गर्दै प्रमुख शाक्यले बताए ।

ठेकेदार कम्पनीले आर्थिक वर्ष २०७९/०८० असार मसान्तपश्चात् सडक निर्माणको काम ठप्प पारेको थियो । जोखिमपूर्ण सडक अलपत्र छाडेर ठेकेदार कम्पनी बेपत्ता बनेपछि सरोकारवाला सङ्घ–संस्थाहरूले निर्माण कार्य अगाडि बढाउन दबाव दिँदै आएका थिए । दबावस्वरूप नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश समितिलगायत यातायात व्यवसायी तथा मजदुर सङ्गठनले जिल्ला प्रशासन कार्यालय सुनसरीलाई ज्ञापन–पत्र बुझाएको थियो ।

ज्ञापन–पत्र बुझाएपश्चात् सुनसरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ठेकेदार कम्पनीसहित सरोकार पक्षलाई असोज ११ गते छलफलमा बोलाएकी थिइन् । छलफलमा ठेकेदार कम्पनीका प्रतिनिधि अनुपस्थित बनेको थियो । ठेकेदार कम्पनीका प्रतिनिधि उपस्थित नभएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न गर्न रानी–विराटनगर–इटहरी–धरान आयोजनालाई निर्देशन दिने निर्णय गरेको थियो ।

जिल्ला प्रशासनले ठेकेदार कम्पनीले तत्काल सडक निर्माण कार्य अघि नबढाए कानूनी प्रक्रिया अघि बढाउन आयोजनालाई निर्देशन दिएपछि आयोजनाले ठेकेदारलाई पत्राचार गरेको थियो । आयोजनाले यही असोज ११ मा एकदिने समयसीमा दिएर पत्राचार गरेपछि ठेकेदार कम्पनी सम्पर्कमा आई काम सुरु गरेको आयोजना प्रमुख शाख्यले जानकारी दिए । उनका अनुसार ठेकेदार कम्पनीले काम गरेमा ६ महिनामा नै निर्माण कार्य सम्पन्न हुन्छ । सम्झौताअनुसार निर्माण सम्पन्न गर्नु पर्ने समयसीमा २०८० असार २५ मा नै सकिएको छ । आर्थिक वर्ष २०८१÷०८२ असारसम्म समय थपिएको छ ।