कटहरी, मोरङ । आफ्नै गाउँमा विशेषज्ञ चिकित्सकबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ टेष्ट हुने भएपछि सबेरै खाना खाएर मोरङको कटहरी गाउँपालिका–४ नयाँबजारकी ५० वर्षीया रीतादेवी सहनी गाउँपालिकाको स्वास्थ्य चौकीमा सोमबार दिउँसो पुगिन् ।

उनी स्वास्थ्य चौकीमा १ बजे आइपुग्दा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्त्रीरोग विशेषज्ञ डा.रमेश श्रेष्ठ सहनीजस्तै कटहरी गाउँपालिकाभित्रका ग्रामीणक्षेत्रका गृहिणी महिलाहरूको पाठेघरमा क्यान्सर भए नभएको पत्ता लगाउन भिआइए जाँचमा व्यस्त थिए । डाक्टर श्रेष्ठलाई स्वास्थ्य उपचारमा सहयोग गर्न खटिएका थिए,  राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीका पदाधिकारी र सदस्यहरू । जब पाठेघरको मुखको क्यान्सर नभएको भिआइए जाँच गरेर पुष्टि भएपछि उनी हर्षित मुद्रामा बाहिर आइन् । ‘अब ढुक्क भयो । गाउँमै आएको शिविरमा पाठेघरको अवस्थाबारेमा जानकारी पाएँ’ उनले भनिन्, ‘स्थानीयस्तरमा आफ्नो स्वास्थ्य अवस्थाको जानकारी पाउँदा निकै खुसी लागेको छ ।’ यही स्वास्थ्य उपचारको सेवा लिन विराटनगर जानुपर्दा हजारौं रुपैयाँ खर्च हुने गरेको थियो । स्थानीयस्तरमा निःशुल्क स्वास्थ्य उपचार पाउँदा समय र पैसा दुवैको बचत भएको भन्दै उनी खुसी देखिन्थिन् ।

यसरी सहनीजस्तै ग्रामीण क्षेत्रका महिलाहरूको मुहारमा खुसीको प्रकाश छर्ने अवसर राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगरपालिका कमिटीले जुटाइदिएको थियो । सौन्दर्यकर्मी युनियनले तीजको अवसर पारेर गरेको निःशुल्क भिआइए जाँच शिविरमा ७५ जनाले स्वास्थ्य जाँच गरे । जाँच गरिएकामध्ये दुई जना महिलामा पाठेघरको मुखको क्यान्सर प्रारम्भिक चरणमा देखिएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. श्रेष्ठले जानकारी दिए । क्यान्सर देखिएका महिलाको तत्काल उपचार गरिएको छ । कटहरी–२ की माया राजवंशी (नाम परिवर्तन) ले समयमै पाठेघरको मुखको क्यान्सर पत्ता लागेपछि स्थानीयस्तरमै उपचार पाएको बताइन् । ‘सुरुको अवस्थामा पाठेघरको क्यान्सर पत्ता लाउँदा सही तरिकाले उपचार पाएको छु’ उनले भनिन्, ‘यहाँ गरिएको भिआइए जाँच निकै प्रभावकारी लाग्यो ।’

सही समयमा क्यान्सर हुनुभन्दा अगाडिको अवस्था पत्ता लगाई सही उपचार गर्न सकियो भने पछि गएर हुने जटिल खालको पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिने डाक्टर श्रेष्ठले बताए । ‘पाठेघरको मुखको क्यान्सर गराउने भनेको एउटा भाइरस एचपीभी हो, जसको ५० प्रतिशत एचपीभी १६ र एचपीभी १८ कै कारणले हुन्छ । यो भाइरस सर्ने भनेकै यौनसम्पर्कबाट हो, धेरैजसो मानिस सुरुवाती यौनसम्पर्क गर्दा नै यो भाइरसबाट सङ्क्रमित हुन्छन् र लगभग ९० प्रतिशतमा यो सङ्क्रमण आफै ठीक भएर जान्छ’ उनले भने, ‘बाँकी १० प्रतिशतमा भने सुरुमा देखिने प्रि–क्यान्सरेज लेजन हुँदै जटिल खालको क्यान्सरसम्म हुने गर्दछ ।’ सुरुकै अवस्थामा पत्ता लगाई उपचार गराउनु उत्तम मानिन्छ । ३० वर्षको उमेरदेखि भिआइए टेष्ट गर्न सुरु गरेर ३ देखि ५ वर्षको फरकमा ६५ वर्षको उमेरसम्म नियमितरूपमा गरिनुपर्ने चिकित्सकको सुझाव छ । सौन्दर्यकर्मी युनियनले ग्रामीण क्षेत्रको महिलाको स्वास्थ्य अवस्था बुझ्न आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरमा जाँच गराएका महिलामा पाठेघरमा ऐंजेरु पलाएको, आङ खस्ने, महिनावारी गडबडीलगायतका समस्या देखिएको डा. श्रेष्ठले बताए । ‘सामान्य स्वास्थ्य समस्या देखिएका महिलाको सङ्ख्या धेरै भए पनि पाठेघरमा प्रारम्भिक चरणको क्यान्सर देखिएका महिलाको सङ्ख्या पनि देखिएको छ’–उनले भने । उनीहरूलाई तत्काल उपचारको लागि समेत व्यवस्था गरिएको छ ।

सौन्दर्यकर्मी युनियनले यसपालि तीजमा रमाइलो कार्यक्रम नगरी ग्रामीण क्षेत्रमा पुगेर महिलाहरूको अवस्था बुझ्न शिविर सञ्चालन गरिएको अध्यक्ष भली सुब्बाले बताइन् । स्वास्थ्य जीवनले मात्र उद्यम सम्भव हुने भएकोले संस्थाको ग्रामीण क्षेत्रमा पुगेर महिलाको स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष सुब्बाले बताइन् । ‘स्वास्थ्य भए मात्र उद्यमी महिलाले राम्रोसँग उद्यम सञ्चालन गर्न सक्नुहुन्छ । मध्यम् आय भएका महिलाको स्वास्थ्य बिग्रिए उद्यम तहस–नहस हुन्छ’ उनले भनिन्, ‘महिलाको स्वास्थ्य नै धन हो भन्ने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरेका हौँ’–स्वास्थ्य शिविरको उद्घाटन कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले गरे । उनले कार्यक्रममा बोल्दै भड्किलो तीजको कार्यक्रम नगरी ग्रामीण क्षेत्रको महिलाहरूको स्वास्थ्य अवस्था बुझ्ने तरिकाले गरिएको स्वास्थ्य उदाहरणीय कार्य गरेको बताए । ‘स्थानीय सरकारले गर्नुपर्ने काम हाम्रो पालिकामा आएर सामाजिक संस्थाले गरेको यो उदारणीय काम हो’–उनले भने । आगामी दिनमा पनि यसरी सहकार्य गरेर महिलाहरूको स्वास्थ्य अवस्थाको क्षेत्रमा गाउँपालिकाले काम गर्ने उनले बताए । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीकी सचिव वसन्ती गुरुङले सञ्चालन गरेको कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासङ्घ महिला समिति मोरङकी अध्यक्ष सुनिता छाराहाङ, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय, प्रदेश कमिटी र महानगरका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।