धरानमा डेंगी संक्रमण दर स्थिर तथा उच्च पाइएको छ । ७२ प्रतिशत रहेको संक्रमण दर हालसम्म न्युन हुन सकेको छैन । 

आइतबारसम्म जम्मा २० हजार ७ सय ६७ जनाको परीक्षण गरिएकामा १४ हजार ८ सय ५६ जनामा डेंगी पोजिटिभ देखिएको थियो । यस्तै ५ हजार ९ सय ११ जनामा नेगेटिभ देखिएको धरान स्वास्थ्य शाखाको तथ्यांकले देखाएको छ । ७२ प्रतिशत देखिएको डेंगी पोजिटिभ दर हालसम्म स्थिर रहेको छ । 

डेंगी संक्रमणका कारण धरानका  १३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा धरान वडा नं. २, ५, १०, १६, १७, का एक–एक जना छन् भने धरान १८ र १५ का दुई–दुई जना रहेका छन् । 

संक्रमणका कारण सबैभन्दा बढी धरान ११ मा चारजनाको ज्यान गएको छ । मृत्यु हुनेमा ७ महिला र ६ पुरुष छन् ।