सुनसरी । सशस्त्र प्रहरीले कोसी गाउँपालिका वडानम्बर ८ स्थित भण्टाबारीबाट भन्सार छलेको सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ४ गण हे.क्वार्टर सुनसरीका सूचना अधिकारी प्रेमप्रसाद सिग्देलका अनुसार जिल्लाको कोसी गाउँपालिका वडा नम्बर ८ भण्टाबारीस्थित तीनकुने र वडानम्बर ३ जमुवा चोकस्थित पूर्व– पश्चिम लोकमार्गमा राजस्व अनुसन्धान कार्यालय इटहरीको समन्वयमा सशस्त्र प्रहरीले भन्सार छलेको सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरबाट खटिएको मोबाइल गस्ती टोलीले मोरङबाट काठमाडौँतर्फ जाँदै गरेको ना. ५ ख ४३१ नम्बरको कन्टेनर ट्रक र यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी श्रीपुरबाट खटिएको मोबाइल गस्ती टोलीले ना. ३ ख ४५७९ नम्बरको कन्टेनरबाट भन्सार छलेको सामान बरामद गरेको उनले जानकारी दिए ।

सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा कन्टेनर ट्रकमा लोड गरी लैजाँदै गरेको जुत्ता र गार्मेन्ट्सको दुवै ट्रकमा लोड गरेको सामानहरू विराटनगर भन्सार कार्यालयबाट जारी गरिएको प्रज्ञापन पत्र नं. एम ३५३८४ बमोजिम ४९ लाख ५९ हजार ४ सय ९२ उल्लेख भएकोमा भिसिटिएस नम्बर ८०८१००००८५५३७ मा रकम एक करोड २४ लाख ५१ हजार १ सय ९२ उल्लेख हुँदा  प्रज्ञापन पत्र र भिसिटिएसमा रकम फरक पर्न गएकोले राजश्व छलीको आशङ्कामा गाडीसहित सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

दुवै सवारी साधनको अन्दाजी मूल्य ६० लाख गरी जम्मा मूल्य एक करोड ८४ लाख ५१ हजार १ सय ९२ रुपैयाँ बराबरको मूल्याङ्कन गरी थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।