भद्रपुर । सशस्त्र प्रहरीले दुइवटा टयाक्टर सहित ४० लाख मूल्य बराबरको अवैध सखुवा जातको गोलिया काठ बरामद गरेको छ ।

झापाको मेचीनगर १ कृष्णथुम्की वनबाट शुक्रबार राती १२ बजेर १० मिनटमा विषेश सुचनाको आधारमा सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका गणपति देवराज अर्यालको नेतृत्वमा गएको टोलीले जङ्गलबाट काठ बरामद गरेको सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय  कोशी प्रदेश सुनसरीले जनाएको छ ।

 काठ तस्करले प्रहरीलाइ देखेपछि छाडेर भागेको र पछ्याउँदै जाँदा टयाक्टर फेला पारिएको डीआइजी अञ्जनीकुमार पोखरेलले जानकारी दिए । खोजतलासका क्रममा ५ सय क्यु.फिट सखुवा,अन्य जातका २ सय क्यु.फिट र करिब एक ट्रक साल र अन्य जातका लाथ्रा फेला पारिएको डिआइजी पोखरेलले बताए ।

नियन्त्रणमा लिएको मे १ त ७२०० र मे १ त ५३४५ नम्बरका टयाक्टर र काठसहित अनुमानित ४० लाख मूल्य कायम गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय झापा वुझाइएको उनले जानकारी दिए । 

झापाका सामुदायिक वनबाट काठ तस्करले काठमिलमा र भारत  तर्फ लैजादै आइरहेका छन् ।