धरान । धरान–इटहरी सडक–खण्ड अन्तर्गत चारकोसे जङ्गल क्षेत्रमा एक युवामाथि गोली प्रहार गरी लुटपाट गरिएको छ ।

गोली प्रहारबाट घाइते मोरङ विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । 

चौधरी नोबेल अस्पताल विराटनगरमा पूर्व–प्राविधिकका रूपमा कार्यरत थिए । हाल उनी कम्प्युटर प्राविधिकका रूपमा रहेका थिए ।

उनको साथमा रहेकी सुमना खत्रीले प्रहरीलाई दिएको प्रारम्भिक बयानका अनुसार तीनजनाको समूहमा आएका अज्ञात समूहले चौधरीलाई गोली प्रहार गरी लुटपाट गरेको थियो ।

दुई जनाको साथमा खुकुरी र एकजनाको साथमा पेस्तोल रहेको थियो । सुमना र मृतक रोहित प्रेमी–प्रेमिका रहेको प्रहरीले जनाएको छ । उनीहरू धनकुटातिर घुमघाम गरेर फर्किने क्रममा शुक्रबार अपरान्ह घटना भएको हो । सुमना पनि नोबेल अस्पतालकै रेकर्ड शाखामा कार्यरत रहेको बताइन्छ ।

प्रहरीले घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । मृतक चौधरीबाट लुटेराको समूहले मोबाइल र पैसा लुटेको जनाइएको छ । प्रहरीले अहिले विभिन्न कोणबाट अनुसन्धानलाई अगाडि बढाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नवराज मल्लले पानीपिया नजिकै मोटरसाइकल रोकी पानी खान खोज्दा आक्रमण भएको बताए । यो क्षेत्र इलाका प्रहरी कार्यालय इटहरीले हेर्दै आएको छ । इटहरी प्रहरीले त्यस क्षेत्रमा सर्च अभियान चलाएको छ ।  

पछिल्लो समय धरान आसपासका जङ्गल क्षेत्रमा लुटपाटको घटना वृद्धि भएको प्रहरी स्रोत बताउँछ । प्रहरीका अनुसार धरान–१७ र वराहक्षेत्रको नडाहा पुग्ने सडक–खण्डमा पनि यसअघि थुप्रै व्यक्तिहरू लुटिएको घटना सार्वजनिक भएको छ ।

त्यस घटनामा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान पनि गरेको थियो । तर, यथेष्ट प्रमाणको अभावमा छाडेको प्रहरी स्रोत बताउँछ ।

शृङ्खलाबद्ध लुटपाट भइरहेपछि प्रहरीले निगरानी बढाउँदै आएको थियो । तर, कोशी लोकमार्गमै भएको यो पहिलो घटना रहेको प्रहरीले जनाएको छ ।