वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाको वडानम्बर ७ तित्रीगाछीस्थित महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक फिरोज घिमिरेको ल्यापटप रहस्यपूर्ण तरिकाले कार्यालयबाटै चोरी भएको छ । 

विद्यालयको महत्वपूर्ण कागजात राखिएको प्रअ घिमिरेले प्रयोग गर्ने उक्त ल्यापटप असार २८ गते चोरी भएको हो । दिनमा मात्र ड्युटी गर्ने ५५ वर्षीय गार्ड शोभबहादुर भुजेलले घटनाको भोलिपल्ट असार २९ गते बिहान विद्यालय खोल्न आउँदा प्रअको अफिस कोठाको ताला चुँडिएको देखेपछि प्रअलाई खबर गरेका थिए । 

भुजेललाई ‘केही नचलाउनू’ भन्दै प्रअले तुरुन्त प्रहरीलाई सूचना गरेका थिए, इलाका  प्रहरी कार्यालय चक्रघट्टीबाट गएको प्रहरीले छानबिन सुरु गरेको थियो । छानबिनका क्रममा आफ्नो कालो रङको डेल कम्पनीको आई थ्री ल्यापटप चोरी भएको प्रअ घिमिरेले बताए । उनले आफूले चलाउने काठको दराजसमेत फोड्ने प्रयास गरिएको बताए ।

कार्यकक्षमा रहेको लेखापालले प्रयोग गर्ने ल्यापटप १ थान, ३ थान प्रिन्टर, २ थान इन्भर्टर, १ थान डेस्कटप र ६५ इन्चको टेलिभिजन र स्टील दराजलाई केही नभएको तर, विद्यालयको महŒवपूर्ण डकुमेन्ट रहेको प्रअको ल्यापटप चाहिँ चोरी भएको हो । 

ल्याटपमा विद्यालयका शिक्षकहरूको प्रोफाइल, विद्यार्थीको रेकर्डहरू, वार्षिक प्रतिवेदनहरू जस्ता पुराना कागजातहरू थिए । ‘विद्यालयको इतिहास नै चोरी भएको छ, अफिसको अन्य सामान केही भएको छैन । रहस्यपूर्ण रूपमा मेरो मात्र चोरी भएको छ, हैन भने चोरले कसरी थाहा पायो यो ल्यापटपले मैले नै चलाउँछु भनेर ?’–घिमिरे भन्छन् । घटनाको सम्बन्धमा असार २९ गते इप्रका चक्रघट्टी र ३१ गते सुनसरी जिल्ला प्रशासन एवम् प्रहरी कार्यालयमा लिखित जाहेरी दिएको प्रअ घिमिरेले बताए ।

यता घटनालाई स्थानीयले केही महिनाअगाडि स्कुलले मनाएको स्वर्ण महोत्सवसँग जोडेर टिका टिप्पणी  गर्न थालेका छन् । ६ महिनाअगाडि गरिएको स्वर्ण जयन्तीको हिसाब अहिलेसम्म सार्वजनिक भएको छैन । कतै महोत्सवको हिसाबमा गडबडी भएको त छैन ? भन्ने स्थानीयको प्रश्न छ ।

तर, प्रअ घिमिरेले त्यसको खण्डन गर्दै भने, ‘पब्लिकले शङ्का गरेको निरर्थक र झुठो हो, महोत्सवको सम्पूर्ण हिसाब, बिल भरपाई, खर्चको विवरण डकुमेन्टहरु सुरक्षित रहेको छ, ल्यापटपमा स्वर्ण जयन्तीको केही पनि छैन, जयन्तीको सबै विवरण यथार्थ रहेका छन् ।’

माघ १९ गते भएको जयन्तीलाई वराहक्षेत्र नगरपालिका, कोशी र हरिनगर गाउँपालिका र इटहरी उपमहानगरपालिकाबाट आउने भनिएको सहयोग समयमा नआएको र यसै बीचमा सोही स्कुलमा अध्ययनरत कक्षा ९ की छात्राको आकस्मिक निधनले शोकमा रहेको हुँदा साउनमा हिसाब सार्वजनिक गरौँ भनेर शिक्षक अभिभावक सङ्घका अध्यक्ष वेदनाथ घिमिरेले आग्रह गरेकाले केही समय ढिलाइ भएको उनले बताए ।

‘डेढ महिनाभित्रमा स्कुलका एक छात्र र २ छात्रा गरी ३ जना विद्यार्थीले गरेको आत्महत्याले त्यसै त विद्यालयमा शोक रहेको थियो । अहिले फेरि यो समस्या आयो तर, विद्यालयले हिम्मत छोड्दैन’–प्रअ घिमिरेले भने ।